यस्ता छन् पोखरा-जोमसोम रुटमा भएका तारा एयरका दुई ठूला दुर्घटना

बेनी । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान ७ वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् ।

 

आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो ।

 

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको छ ।

 

जोमसोम विमानस्थल नपुग्दै कोबाङको सानुसरे डाँडोमा ठोक्किएर दुर्घटनामा परेको विमानमा सवार सबैको शव सङ्कलन गरी काठमाडौँ पठाइएको छ ।

 

तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्वीनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो ।

 

उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो । सात वर्षको अवधिमा आइतबार भएको दोस्रो दुर्घटना हो । त्यसैगरी २०७३ भदौ ३ गते जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमइक्यु ट्वीनअटर विमान धावनमार्गमा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो ।

 

पोखरा–जोमसोम रुटमा उडान भर्ने विमानले म्याग्दीको घोरेपानीसम्म पोखराको टावर र लेतेमाथिको आकाशदेखि जोमसोमसम्म जोमसोम विमानस्थलको टावरसँग सम्पर्क हुने भए पनि पहाड र हिमालको अवरोधका कारण घोरेपानीदेखि लेतेको आकाशसम्म विमान दुवैतर्फको सम्पर्कबाट विच्छेद हुन्छन् ।

 

योबीचको दूरी पार गर्न विमानलाई पाँचदेखि छ मिनेट लाग्ने गर्छ । दुवैतर्फको टावरबाट विच्छेद हुने ‘बफर जोन’को यही मार्गमा धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर विमानले उडान भर्नुपर्छ ।

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त Read Previous

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त

अपि पावरको साढे ४ लाख कित्ता सेयर लिलामीमा आयो, आइपीओको भाउमै किन्ने अवसर ! Read Next

अपि पावरको साढे ४ लाख कित्ता सेयर लिलामीमा आयो, आइपीओको भाउमै किन्ने अवसर !