बजेट बारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बारे नेपाल समुद्रपार निकासी पैठारी संघले मिश्रित प्रतिक्रिया दिएको छ ।

 

संघले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारण सार्वजनिक गरेको हो । बजेटमा कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै यस क्षेत्रमा जाने बजेटको आकार बढाउनुलाई संघले सकारात्मक मानेको छ । यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्ने संघको ठहर छ ।

 

स्वदेशी उद्योगका लागि विभिन्न सहुलियत घोषणा गरिनु यो बजेटको अर्को सकारात्मक पक्ष रहेको भन्दै संघले यसबाट मुलुकमा औद्योगिकीकरण र रोजगारीका अवसर सिर्जना हुने तथा विदेशी लगानी प्रोत्साहित हुने विश्वास लिएको छ ।

 

यस्ता छन् संघले बजेट बारे दिएको प्रतिक्रिया

 

सकारात्मक पक्ष : १. कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै यस क्षेत्रमा जाने बजेटको आकार बढाउनुलाई संघलै निकै सकारात्मक मानेको छ । यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्ने संघको ठहर छ ।

 

२. स्वदेशी उद्योगका लागि विभिन्न सहुलियत घोषणा गरिनु यो बजेटको अर्को सकारात्मक पक्ष हो । यसबाट मुलुकमा औद्योगिकीकरण र रोजगारीका अवसर सिर्जना हुने तथा विदेशी लगानी प्रोत्साहित हुने संघले ठानेको छ ।

 

३. संघले लामो समयदेखि गर्दै आएको माग बमोजिम आयकर नलाग्ने सीमा थोरै भए पनि वृद्धि गर्नु यो बजेटको सकारात्मक पक्ष हो । यद्यपि आयकर नलाग्ने सीमा हेरफेर गर्दा मुद्रास्फीतिको पक्षलाई भने बजेटल ध्यान दिन नसकेको पाइएको छ ।

 

४. निकासीमा दिइने नगद अनुमान बढाउनुपर्ने माग पनि यस संघले निकै अघिदेखि राख्दै आएको हो । यसपटकको बजेटले उक्त मागलाई सम्बोधन गरेकोमा यो संघ हार्दिक स्वागत गर्दछ । तर उच्चतम दरको नगद अनुदान पाउनेमा निकासीयोग्य थोरै वस्तु मात्र राखिएको छ । अतः उक्त सूचीमा गार्मेन्टलगायत अन्य वस्तु राख्नुपर्दछ । त्यसैगरी, अनुदान प्राप्त गर्ने प्रक्रिया सरलीकरणतर्फ भने बजेट मौन रहेको छ । प्रक्रिया सरलीकरण गर्न नसके साना र मझौला निकासीकर्ताले त्यसबाट लाभ लिन नसक्ने हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदैछौं ।

 

५. विदेशी लगानीको सीमा घटाउनुपर्ने यस संघको मागलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसले गर्दा मझौला उद्योग, व्यवसायमा विदेशी लगानीकर्ता आकर्षित भई रोजगारीका अवसर सिर्जना र स्वदेशी उत्पादन तथा निकासी वृद्धिमा भूमिका खेल्न सक्ने संघले अपेक्षा लिएको छ ।

 

६. आयात घटाउने बजेटको नीतिलाई पनि संघले सकारात्मक मानेको छ ।

 

नकारात्मक पक्ष

 

१. करको दर नभई दायरा वृद्धि गर्नुपर्ने यस संघ लगायत निजी क्षेत्रको मागलाई भने यसपालिको बजेटले पनि सम्बोधन गर्न सकेको देखिएको छैन । साबिकका व्यवसायमाथि नै करको भार थोपर्दा व्यवसायको लागत बढ्ने र व्यवसायी पलायन हुने स्थिति आउँछ ।

 

२. यसै पनि महँगीको चपेटामा परेका उपभोक्तामाथि महँगीको बोझ थपिने गरी अधिकांश वस्तुको भन्सार महसुल र अन्तःशुल्क दर वृद्धि हुनुलाई संघले बजेटको नकारात्मक पक्षको रुपमा लिएको छ । यसले राजस्व बढनुको सट्टा चोरी पैठारी बढेर वैधानिक कारोवार निरुत्साहित हुने र राजस्वमै प्रतिकूल असर पर्ने देखिन्छ ।

 

३. भन्सार र अन्तःशुल्कका दरमा गरिएको वृद्धिले मुद्रास्फीतिलाई वाञ्छित सीमामा राख्ने सरकारको लक्ष्यमा पनि चुनौती खडा गर्ने देखिन्छ ।

चुनावपछि बैंकिङ प्रणालीमा आयो १३ अर्ब निक्षेप Read Previous

चुनावपछि बैंकिङ प्रणालीमा आयो १३ अर्ब निक्षेप

अब जहाज उड्ने रुटको मौसम सफा नभई उडान अनुमति नपाउने Read Next

अब जहाज उड्ने रुटको मौसम सफा नभई उडान अनुमति नपाउने