भारतबाट मल आउने टुंगो नहुँदा यस वर्ष पनि अभाव हुने सम्भावना

काठमाडौं । कृषिप्रधान मुलुक भनिए पनि नेपालमा हरेक वर्ष खेती गर्ने सिजनमा रसायनिक मल अभाव हुने गरेको छ । सरकारले समयमै मल आयात गर्न नसक्दा कृषकले मल अभाव झेल्न बाध्य हुनुपरेको हो ।

 

सरकारले चालु आवमा पनि मलको व्यवस्थापन गर्न सकेको छैन । खेती गर्ने सिजन सुरू हुनै लागे पनि अझै पर्याप्त मात्रमा मलको जोहो भएको छैन । सरकारले यस वर्ष भारतबाटबाट डेढ लाख मेट्रिकटन मल आयात गर्ने सम्झौता गरेको भए पनि हालसम्म आइपुगेको छैन ।

 

सरकारले चालु आर्थिक वर्षमा धान रोप्नका लागि भारतबाट जीटुजी गरेर रसायनिक मल ल्याउने तयारी गरे पनि सो मल आयात हालसम्म टुंगो लागेको छैन ।

 

कृषि विकास मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले भारतमा मल आयातका लागि चिठ्ठी पठाए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको बताए । उनले असारमा धान रोपाइँकै लागि मल ल्याउने गरी पहल भइरहेको बताए ।

 

‘अहिले रसायनिक मल छैन, धान रोप्नलाई भनेरै हामीले मल जीटुजी माध्यबाट ल्याउने तयारी गरेका हौँ,’ मिश्रले चाणक्य पोष्टसँग भने ‘मल कति गते कैले आइपुग्छ टुंगो लागेको छैन, हामी जति सक्दो छिटो ल्याउने तयारीमा छौं ।’

 

यस्तै, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत र नेपाली कम्पनी बीच सप्लाई र रिसिभका लागि सम्झौता अन्तिम चरणमा रहेको बताए । उनले असार महिनाको पहिलो सातासम्म मल ल्याउने गरी प्रक्रिया अघि बढेको बताए ।

 

सरकारले डेढ लाख मेट्रिकटन मल भारतबाट जीटुजी प्रक्रियाबाट आयात गर्न लागेको उनले बताए । उनले ग्लोबल टेन्डर मार्फत समेत २५ हजार मेट्रिकटन मल आयातको क्रममा कलकतामा रहेको बताए ।

 

‘मल जसरी भए पनि असार पहिलो साताभित्र ल्याउने गरी प्रक्रिया अघि बढेको छ, २५ हजार मेट्रिकटन रसायनिक मल ल्याउने प्रक्रिया भइरहेको छ,’ सञ्जेलले भने ।

 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चालु आवमा डेढ लाख मेट्रिकटन हाराहारीमा मल आयात भएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा मल आयातका लागि मात्र २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको चैत मसान्तसम्ममा १३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ बराबरको मल आयात भएको छ । सो मूल्यमा १६ करोड ४२ लाख ९५ हजार ३९९ केजी मल आयात भएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षमा धान रोपाइका लागि सरकारसँग मल छैन ।

 

सरकारले यो पटक भारतसँग ५ वर्षसम्मका लागि मल आयात गर्ने सम्झौता गरेको छ । चालु आवमा सरकारले चीनबाट १५ सय मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखेको थियो । चालु आवमा चीनबाट ५ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ करोड २० लाख ५५ हजार ६५० केजी यूरीया मल आयात भएको छ।

 

नेपालमा इन्डोनेसिया, यूएनई, भारत, अमेरिका, रसिया लगायतका मुलुकबाट मल आयात हुँदै आएको छ । सरकारले ग्लोबल टेन्डरबाट विभिन्न देशबाट रसायनिक मल आयात गरि ल्याउने गरेको छ ।

 

यो वर्ष इन्डोनेसियाबाट २ अर्ब ४० करोड रुपैयाँ लागतमा ३ करोड ४१ हजार ७५५ केजी यूरीया मल आयात भएको छ। रसियाबाट ५३ करोड ३३ लाख रुपैयाँमा ५१ लाख केजी पोटास मल आयात भएको छ ।

 

विगतमा सरकारले मलका लागि ११/१२ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने गरेको थियो । चालु आवमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई ७५ हजार मेट्रिकटन मल ठेक्का मार्फत ल्याउन स्विकृती दिइएको छ । ग्लोबल टेन्डरबाट पनि मल ल्याउने क्रममा सरकार रहेको छ ।

 

साउदीबाट मल ल्याउने तयारी

 

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान नेपाल भ्रमणमा आएका बेला समेत मल आयातका लागि कुरा भएको छ । साउदी अरबाट मल आयातलाई उनले सकारात्मक रुपमा लिएको कृषि मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए ।

 

उनले साउदीबाट राजकुमार आउँदा मल आयातको कुरा भएको र मल सप्लाईको लागि प्लान समेत पठाइएको बताए । हालसम्म उक्त पत्रको कुनै थप प्रतिक्रिया आएको छैन ।

 

धानका लागि मल अभाव कायमै

 

धान रोप्ने सिजन नजिकिए पनि भारतबाट मल आयात नहुँदा यस वर्ष पनि अभाव हुने हो कि भन्ने संशय पैदा भएको छ । सरकारबाट आयात हुने मिति टुंगो नलाग्दा अझै मल आयात सुनिश्चित भइसकेको अवस्था भने छैन । यसले गर्दा यो वर्ष धान रोपाइँका लागि मल अभाव हुने देखिन्छ । निजी क्षेत्रले केही मल ल्याउने क्रममा रहे पनि उक्त मल माग भन्दा २० प्रतिशत हाराहारीमा मात्र रहने छ ।

 

हरेक वर्ष धान रोपाइँका लागि मल अभाव हुने गरेको छ । यो वर्ष पनि मलको हाहाकारी कायमै रहने संकेत देखिएको छ ।देशका विभिन्न भागमा जेठ अन्तिमबाट वर्षा सुरू भए लगतै धान रोपाइँ सुरू गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भने हालसम्म कति बीउ रोपिए भन्ने तथ्यांक संकलन गर्न सकेको छैन ।

 

नेपालमा वार्षिक साढे ५ लाख मेट्रिकटन रसायनिक मल आवश्यक हुने गरेको छ ।

अब सीमाका नेपाली पेट्रोल भर्न भारत जाने ! Read Previous

अब सीमाका नेपाली पेट्रोल भर्न भारत जाने !

काठमाडौं महानगर अपडेट : १ लाख ४७ हजार मत गन्दा कसले कति पाए ? Read Next

काठमाडौं महानगर अपडेट : १ लाख ४७ हजार मत गन्दा कसले कति पाए ?