काठमाडौं । नेपालमाभन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थ सस्तो भएको छ । यसअघि नेपाली बजारमा सस्तो हुने गरेको भए पनि भारत सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क घटाएसँगै भारततर्फ डिजेल र पेट्रोल सस्तो भएको हो ।
शनिबार भारतको केन्द्र सरकारले इन्धनका कारण महँगी बढेकोभन्दै पेट्रोलमा प्रतिलिटर ८ भारु र डिजेलमा ६ भारु अन्तःशुल्क घटाएको थियो । सोही अनुसार भारतीय बजारमा पेट्रोल १२.८० नेपाली रुपैयाँ र डिजेल ९.६० रुपैयाँ सस्तिएको छ ।
नयाँ मूल्यसूची अनुसार सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालकोभन्दा प्रतिलिटर ५.२३ रुपैयाँ र डिजेल ९.५६ रुपैयाँ सस्तो छ ।

सोमबार भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँ र डिजेल १५३.४४ रुपैयाँ रहेको छ । जबकी नेपाली सीमावती बजार वीरगञ्जमा पेट्रोल १८० रुपैयाँ र डिजेल १६३ रुपैयाँ रहेको छ ।
भारतीय सीमावर्ती बजारमा इन्धनको मूल्य नेपालकोभन्दा सस्तो भएपछि सीमा क्षेत्रका वासिन्दाहरु इन्धन भर्न भारतीय बजारमा जाने देखिन्छ । नेपालतर्फ इन्धन सस्तो हुँदा भारतीयहरु पनि भर्न आउने गरेका थिए भने अहिले भारतमा सस्तो भएपछि नेपालीहरु पनि जाने गर्छन् ।
ठूला सवारीसाधन जान प्रक्रिया पूरा गर्नु पर्ने भए पनि मोटरसाइकल तथा साना सवारीसाधनहरु तेल भर्न भारतीय सीमावर्ती बजारमा जाने गरेको बताइन्छ ।
नेपाली सवारीधनी इन्धन भर्न भारततर्फ जाने देखिएसँगै मुद्रा समेत बाहिरने जोखिम बढेको छ ।