काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ, हवाई इन्धनको मूल्य प्रतिलिटर (आन्तरिकतर्फ) १६६ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ पुगेको छ ।
निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो ।
मूल्य बढाए पनि निगमलाई अझै पेट्रोल र डिजेल बेच्दा घाटा रहेको छ । लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १४.६४ रुपैयाँ, डिजेलमा २६.८२ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ८७९.७५ रुपैयाँ घाटा रहेको निगमले जनाएकोे छ ।
मट्टितेलमा २२.११ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १३.९८ रुपैयाँ र बाह्यतर्फ ५९.६१ रुपैयाँ नाफा रहेको छ । आगामी एक महिनामा ७ अर्ब ४० करोड घाटा हुने निगमले जनाएको छ । हालसम्म निगमको घाटा ३५ अर्ब नाघेको छ ।