भारतले इन्धनमा घटायो अन्तःशुल्क, पेट्रोल लिटरमा १३ रुपैयाँ सस्तिने

काठमाडौं । भारतको केन्द्र सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगी बढेसँगै केन्द्र सरकारले शनिबार इन्धनमा लाग्ने अन्तःशुल्क घटाउने निर्णय गरेको हो ।

 

केन्द्र सरकारले पेट्रोलमा प्रतिलिटर भारु ८ (१२.८ नेपाली रुपैयाँ) र डिजेलमा भारु ६ (९.६० नेपनली रुपैयाँ) अन्तःशुल्क घटाउने निर्णय गरेको हो । योसँगै अब भारतमा पेट्रोल भारु ८ र डिजेल भारु ६ प्रतिलिटर सस्तिएको छ।

 

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले ट्वीट गर्दै अत्यावश्यकीय वस्तुको मूल्यमा इन्धनमा भइरहेको निरन्तरको मूल्यवृद्धिले महंगी बढेकाले उक्त निचोडमा पुगेको जानकारी दिएकी छिन्।

 

यसका साथै भारत सरकारले उज्वल योजनाअन्तर्गतका लाभग्राहीहरुलाई वर्षमा १२ वटा सिलिण्डर खरिदमा प्रति सिलिण्डर २०० भारु (३२० रुपैयाँ) सहुलियत दिने भएको छ। खाना पकाउने ग्यासमा भइरहेको अचाक्ली मूल्यवृद्धिबाट जोगाउन सहुलियत दिने निर्णय गरिएको बताइएको छ। सीतारमणको घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारलाई सधैं ‘नागरिक पहिले’ हुने बताएका छन्।

 

‘पेट्रोल र डिजेलको मूल्यमा हुने गिरावटले विभिन्न क्षेत्रहरुमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। जसका कारण हाम्रा नागरिकहरुलाई दैनिकी गुजार्न सहज हुने अपेक्षा छ,’ मोदीको ट्वीटमा भनिएको छ।भारतको केन्द्र सरकारले पेट्रोल र डिजलको अन्तःशुल्कमा गरेको कटौतीले बढ्दो महँगीसँग जुध्न सघाउ पुग्ने विश्लेषण गरिएको छ।

 

भारतमा होलसेल मुद्रास्फीति (डब्लूपीआइ) अप्रिलमा सबै वस्तुहरुको मूल्य बढेर अहिलेसम्मकै उच्च १५.०८ प्रतिशत विन्दुमा पुगेको छ। अप्रिलमा खुद्रा मुद्रास्फीति पनि आठ वर्षयताको सबैभन्दा धेरै ७.७९ प्रतिशत पुगेको छ।

 

अर्थमन्त्री सीतारमणको ट्वीटमा रुस युक्रेनबीचको युद्ध र कोरोना महामारीका कारण विश्वले आपूर्ति चक्रमा समस्या खेपिरहेको बताएकी छिन् । जसका कारण विश्वभर वस्तुको अभाव देखापरेको उनले उल्लेख गरेकी छिन्।

 

सरकारको आम्दानी १६ खर्ब घट्ने

 

केन्द्र सरकारले इन्धनको अन्तःशुल्क घटाउने निर्णय गरेसँगै सरकारको आम्दानी वार्षिक करिब १० खर्ब भारु (१६ खर्ब नेपाली रुपैयाँ) ले घट्ने
अर्थमन्त्री सीतारमणले बताएकी छिन् ।

 

२०२०/२१ मा केन्द्र सरकारले पेट्रोल र डिजलबाट ३७ खर्ब भारु अन्तःशुल्क संकलन गरेको थियो। जुन २०१९/२० को तुलनामा ८८ प्रतिशतले बढी हो।-टाइम्स अफ इन्डिया

 

अर्थतन्त्र संकटउन्मुखका कारक : संरचनागत समस्या र पूर्व तयारीको अभाव Read Previous

अर्थतन्त्र संकटउन्मुखका कारक : संरचनागत समस्या र पूर्व तयारीको अभाव

अपि पावरको साढे ४ लाख कित्ता सेयर लिलामीमा आउने Read Next

अपि पावरको साढे ४ लाख कित्ता सेयर लिलामीमा आउने