अर्थतन्त्र संकटउन्मुखका कारक : संरचनागत समस्या र पूर्व तयारीको अभाव

काठमाडौँ । चालु आर्थिक वर्षको सुरूदेखि ओरालो लागेका वित्तीय सूचकहरू लयमा फर्किन सकेका छैनन् । कोरोना महामारीपछि आयातमा भएको वृद्धिले विनिमय संचितिको दबाबमा रहेको आर्थिक क्षेत्रमा सुधार भएको छैन ।

 

विदेशी मुद्रा आर्जनका स्रोतहरूबाट आम्दानी नहुँदा र वित्तीय प्रणालीमा भएको पैसा आयातमा गएकाले बाह्य दबाबमा परेको अर्थतन्त्रका सूचकहरू सकारात्मक हुन नसकेका हुन् ।

 

एकातिर वित्तीय प्रणालीमा तरलताको चरम संकट छ । जसको कारण उद्योगधन्दा लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न समस्या छ । अर्कोतर्फ बढ्दो व्यापार घाटाले भुक्तानी सन्तुलन प्रभावित बनेको छ ।

 

आयातको तुलनामा निर्यात न्यून हुँदा मूलुकको ढुकुटी जोगाउनै सकस भएको छ । संरचनागत समस्या र सरकारले पूर्वतयारी गर्न अर्थतन्त्रमा समस्या आएको अर्थशास्त्रीहरू बताउँछन् ।

 

अर्थशास्त्री स्वर्णिम वाग्ले कोभिडपछि आर्थिक क्षेत्र चलाएमान हुँदा आयातमा चाप परेको र त्यसको तुलनामा रेमिट्यान्स, विदेशी पर्यटक र वैदेशिक लगानी वापत आउने विदेशी विनिमयको गति सीमित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताउँछन् ।

 

विनिमय संचितिको दबाबमा रहेको अर्थतन्त्र जोगाउन सरकारले विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ । यसका बाबजूद पनि ढुकुटी जोगाउँदा आर्थिक वृद्धि सुस्त हुने त्रास छ ।

 

नेपालको विनिमय संचितिलाई श्रीलंकासँग तुलना गर्न थालिए पनि त्यस्तो अवस्था भने नआउने जानकारहरूले बताएका छन् । विनिमय संचितिको रुपमा नेपालको अर्थतन्त्रलाई हेर्दा कम्फटेबल जोनमै भए पनि सचेत हुनुपर्ने विषय भएको वाग्लेले बताए ।

 

‘हाम्रो जस्तो ५ महिनासम्म आयात धान्न सक्ने संचिति भएकोलाई कम्फरटेबल नै मानिन्छ । तीन महिना पनि आयात धान्न नसक्ने अवस्था आएपछि संकट हुन्छ,’ उनले भने, ‘नेपालको अहिले संकटपूर्ण अवस्था होइन्, आयातको चापलाई छुट्याउन सकेनौँ भने देशको रिजर्भ घट्न धेरै समय लाग्दैन् ।’

 

विगत ७/८ वर्षको तथ्यांकलाई नै केलाएर हेर्दा वित्तीय प्रणालीमा संरचनागत समस्या देखिँदै आएको छ । कुल ग्रास्र्थ उत्पादनको वास्तविक आर्थिक वृद्धिको अनुपातमा कर्जा विस्तार जुन अस्वभाविक भइरहेको उनले बताए ।

 

‘दुई दशकदेखि कर्जाको वृद्धि २०–२२ प्रतिशत भइरहेको छ त्यो भनेको हरेक तीन, साढेतीन वर्षमा दोब्बर हुँदै जानु हो,’ उनी भन्छन्, ‘१० वर्षमा पनि आर्थिक वृद्धि दोब्बर हुनको लागि ७ प्रतिशतको वृद्धिदर चाहिन्छ, तर त्यो आयातमा गइरहेको छ ।’

 

विकास खर्च गर्न नसक्ने सरकारी प्रवृति र विना प्रतिफलका पूर्वाधारहरूमा गरिएको लगानीले संकटउन्मुख अवस्थामा पुर्याउने उनले बताए ।
अर्थतन्त्रमा ५–७ वर्षदेखि देखिएको यस्तो प्रवृति सुधार गर्न कोर्स करेक्सनको बेला आएको उनको भनाइ छ । नेपालले गर्ने खर्च र भित्र्याउने आम्दानीको असन्तुलन भावि आर्थिक वृद्धिका ढोकाहरू बन्द नहुनेगरी कम गनुपर्ने उनले बताए ।

 

राजनीतिक दलको शून्य तयारी र अनिश्चिता

 

अर्थतन्त्र संकटग्रस्त हुनुको मुख्य जिम्मेवार राजनीतिक दल र अनिश्चितता र विना तयारी सरकार चलाउने प्रवृति हो । संसद गगन थापा राजनीतिक पार्टीमा सरकार चलाउने तयारी नहुनु र आफैं अनिश्चित भएका कारण आर्थिक क्षेत्रले समस्या भोगेको बताउँछन् ।

 

‘नेपालको राजनीतिक दलभित्र सरकार चलाउन हुनुपर्ने पूर्वतयारी हो त्यो करिब शून्य छ, हाम्रो अर्थतन्त्र रेमिट्यान्सले र भन्सारबाट उठेको राजस्वले चलेको छ । राजनीतिक दलहरू सरकार चलाउने बेलादेखि योजनाबद्ध रुपले प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘जोखीम र आर्थिक क्षेत्रलाई अघिलिएर जानेकाम राजनीतिक नेतृत्वको हो । सरकार चलाउँदा रेमिट्यान्स र भन्सा उठाएर अर्थतन्त्र चलाउने कम्फर्ट जोनबाट बाहिर निष्कनुपर्छ ।’

 

सीमित स्रोत साधनभित्र रहेर योजनाबद्ध रुपमा अघि बढ्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको उनले बताए । संरचनागत समस्या समाधान नगरी अर्थतन्त्रका समस्या समाधान नहुने उनले थापाको भनाइ छ ।

 

‘नेपाली उत्पादनलाई आयातमुखी अर्थतन्त्रसँग प्रतिस्प्रर्धा गराएर आत्मनिर्भरतर्फ लैजाने सरकारको नीति आवश्यक छ । आर्थिक क्षेत्र र उत्पादनलाई प्राथमिकता दिने एउटा मात्रै नीतिले पनि धेरै सुधार गर्न सक्छ,’ थापाले भने ।

 

राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य उषा झा दिगो योजना छनोट र तयारी हुन नसक्दा राजनीतिक दल जस्तै अर्थतन्त्र अस्तव्यस्त बनेको बताउँछिन् ।

 

‘कार्यान्वयनमा जानुपर्ने ठाउँमा कागजमा मात्र योजना र नीतिहरू सीमित भए,’ उनले भनिन्, ‘नीतिमा कमि भएको होइन, हामीले आफैलाई सच्याउन सकेका छैनौँ । आर्थिक विकासमा सबैभन्दा महत्व शिक्षाको रहन्छ तर हाम्रो शिक्षा प्रणाली नै प्यारालाइज्ड भएको छ ।’

 

हावाहुरीले भरतपुरमा १४० बिजुलीका पोल ढले, पूर्णरूपमा विद्युत् आपूर्ति हुन ५ दिन लाग्ने Read Previous

हावाहुरीले भरतपुरमा १४० बिजुलीका पोल ढले, पूर्णरूपमा विद्युत् आपूर्ति हुन ५ दिन लाग्ने

भारतले इन्धनमा घटायो अन्तःशुल्क, पेट्रोल लिटरमा १३ रुपैयाँ सस्तिने Read Next

भारतले इन्धनमा घटायो अन्तःशुल्क, पेट्रोल लिटरमा १३ रुपैयाँ सस्तिने