हावाहुरीले भरतपुरमा १४० बिजुलीका पोल ढले, पूर्णरूपमा विद्युत् आपूर्ति हुन ५ दिन लाग्ने

चितवन ।चितवनमा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै ५ दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका हुन् ।

 

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन् । ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत् सञ्चालन गर्न अझै पाँच दिन लाग्ने उनले बताए ।

 

केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेशनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध भएको हो । उनका अनुसार भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले चार वटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको सिंहले बताए ।

 

उनले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको बताए । चनौली सबस्टेशनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इञ्जिनीयर पौडेलले बताए।

 

भरतपुर पश्चिम क्षेत्रमा विद्युत् प्रवाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत् प्रवाहमा समस्या रहेको उनले जानकारी दिए । हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र ५ करोडको विद्युत् खपत अवरुद्ध भएको उनले जानकारी दिए।

 

विद्युत् लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेटसमेत प्रभावित छ । शुक्रबारको हावाहुरीका कारण तीनको ज्यानसमेत गएको थियो भने ११ घाइते भएका थिए । हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुख लडेका हुन् । धेरैजसो ठाउँमा रुखले विद्युत् पोल लडाएको हो । रासस

नेपाल बैंक वाग्मती प्रदेशकोे बजेट गोष्ठी सम्पन्न, डिजिटल बैंकिङ विस्तार गर्ने Read Previous

नेपाल बैंक वाग्मती प्रदेशकोे बजेट गोष्ठी सम्पन्न, डिजिटल बैंकिङ विस्तार गर्ने

अर्थतन्त्र संकटउन्मुखका कारक : संरचनागत समस्या र पूर्व तयारीको अभाव Read Next

अर्थतन्त्र संकटउन्मुखका कारक : संरचनागत समस्या र पूर्व तयारीको अभाव