काठमाडौं । चितवनमा माइन्स एण्ड मिनरल्स कम्पनीले लाइम स्टोन (सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ चुनढुंगा) उत्खनन गर्ने भएको छ ।
उक्त कम्पनीले इच्छाकामना नगरपालिकाको मनकामनामा लाइम स्टोन उत्खनन गर्ने भएको हो । यस कम्पनीले ११ करोड ५७ लाख रुपैयाँ लगानीमा उक्त खानीमा लाइम स्टोन उत्खन्न गर्न लागेको हो ।
वार्षिक ३ लाख २४ हजार मेट्रिकटन लाइम स्टोन उत्खनन गर्ने भएको हो । सिमेन्ट उत्पादनका लागि मुख्य कच्चा पदार्थको रुपमा रहेको लाइम स्टोन उत्खननपछि सिमेन्ट उद्योगहरुलाई थप राहत मिल्ने जनाइएको छ ।
सरकारले चालु आर्थिक वर्षमा फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थ लगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन् सुरु गरिने योजना बनाएको थियो ।
चालु आवमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने योजना रहेको थियो । दैलेखको चुप्रामा सञ्चालित पेट्रोलियम अन्वेषण कार्य दुई वर्षभित्र सम्पन्न गरिने सरकारको योजना रहेको छ । मुस्ताङ्गको लोमान्थाङ्गमा रहेको युरेनियम लगायत रेडियोधर्मी पदार्थको संरक्षण, प्रवर्द्धन तथा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।
बैतडीमा फोस्फराइट, उदयपुरमा म्याग्नेसाइट, ओखलढुङ्गा खानीडाँडा र तनहुँ आँवुखैरेनीमा तामाखानी, जाजरकोटमा क्वार्ज र धादिङ्गको रुविभ्यालीमा वहुमुल्य पत्थरको सम्भाव्यता अध्ययन गरी उत्खनन् प्रारम्भ गरिने बजेटमा उल्लेख छ । निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं तथा सुर्खेतमा बहुमूल्य, किमति तथा अर्ध–किमति पत्थर प्रयोगशाला एवम् प्रशोधन केन्द्र स्थापना गरिने सरकारको योजना रहेको थियो ।
खानी तथा भूगर्भ विभागले भू‐वैज्ञानिक खनिज सर्भेक्षण अन्वेषण कार्यअन्तर्गत विभिन्न जिल्लामा करिब ७८०० किमी क्षेत्रमा भौगर्भिक नक्सांकन तथा खनिज अन्वेषण गरेको सरकारी तथ्यांक छ ।