चुनावपछि खुलेको सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । स्थानीय तहको चुनाव अघिको एक सातामा १३० अंकले बढेको नेप्से चुनावपछिको पहिलो कारोबार दिनमा उच्च अंकले घटेको हो ।

 

५ दिन बन्द भएर खुलेको बजारमा आज एकैदिन ८५ अंकले घटेको छ । सूचकमा भारी गिरावट आए पनि कारोबार रकम भने उस्तै रहेको छ । चुनावअघि औसतमा दैनिक डेढ अर्ब हाराहारी कारोबार हुँदै आएकोमा आज पनि सोही हाराहारीमा कारोबार भएको छ ।

 

मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ । यसदिन २२१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँ बराबरको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । अन्य समूह सबैभन्दा धेरै ५.८७ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज जाल्पा लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको पौने १० करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली र सानिमामाइ हाइड्रोपावर साढे ५५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

 

त्यसैगरी, बुद्धभूमि नेपाल, इमर्जिङ नेपाल र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जी र युनिभर्सल पावरको सेयर मूल्य ९ प्रतिशतले घटेको छ भने ज्योति लाइफ, प्रुडेन्सियल, सूर्य लाइफ, मल्टीपर्पस फाइनान्स, ग्रीन लाइफ, पञ्चकन्यामाइ, राधी जलविद्युत्को सेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ ।

चितवनमा लाइम स्टोन उत्खनन गरिँदै, वार्षिक ३.२४ लाख मेट्रिकटन निकालिने Read Previous

चितवनमा लाइम स्टोन उत्खनन गरिँदै, वार्षिक ३.२४ लाख मेट्रिकटन निकालिने

मूल्य वृद्धिले जनताको ढाड सेक्दा पनि सरकार मूकदर्शक, छैन नियन्त्रणको प्रयास Read Next

मूल्य वृद्धिले जनताको ढाड सेक्दा पनि सरकार मूकदर्शक, छैन नियन्त्रणको प्रयास