नेप्सेमा सूचीकृत आधा बढी जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनले कति कमाए ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत आधा बढी जीवन बीमा कम्पनीहरुको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ७ कम्पनीको खुद नाफा घटेको हो ।

 

गत वर्षको तुलनामा चालु आवको चैतसम्म सूचीकृत जीवन बीमा कम्पनीहरुको खुद नाफा ४१.५ प्रतिशतले घटेको छ । चालु आवको तेस्रो त्रैमाससम्म १२ जीवन बीमा कम्पनीले कुल १ अर्ब ३१ करोड २३ लाख रुपैयाँ खद नाफा कमाएका छन् ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा ९३ करोडले कम हो । गत वर्षको चैतसम्म जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब २४ करोड ३५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

 

चुक्ता पूँजी वृद्धि अनुसार व्यवसाय विस्तार गर्न नसक्दा र नोक्सानी बापत ठूलो रकम व्यवस्थापन गर्नुपर्दा कम्पनीहरुको खुद नाफामा उच्च गिरावट आएको हो । समग्रमा खुद बीमा शुल्क संकलन बढे पनि बीमा कम्पनीहरुले नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनु पर्दा नाफा घट्न पुगेको हो ।

 

५ कम्पनीको मात्र नाफा बढ्यो

 

समीक्षा अवधिमा सूचीकृत १२ मध्ये ५ जीवन बीमा कम्पनीहरुको मात्र नाफा बढेको छ भने ७ वटाको घटेको छ । नाफा घट्नेमा अधिकांश पुराना जीवन बीमा कम्पनीहरु रहेका छन् ।

गत वर्षको तुलनामा ज्योति लाइफ, सानिमा लाइफ, एशियन लाइफ, गुँरास लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मात्र नाफा बढेको छ ।समीक्षा अवधिमा रिलायन्स लाइफको नाफा सबैभन्दा धेरे ८२.९२ प्रतिशतले बढेको छ ।

 

यस अवधिमा विगतका वर्षहरुमा अब्बल रहँदै आएको नेपाल लाइफसहित लाइफ इन्स्योरेन्स कर्पोरेशन, युनियन लाइफ, नेशनल, प्राइम, सूय र प्रभु लाइफको नाफा घटेको छ ।

 

नेशनलले सबैभन्दा धेरै नाफा कमाउँदा नेपाल लाइफ घाटामा

 

समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । नेशनलले चैतसम्म २५ करोड ५६ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । यो सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै हो । यद्यपि, नेशनलको नाफा समीक्षा अवधिमा २०.७६ प्रतिशतले घटेको छ ।

 

यस्तै, दोस्रो धेरै नाफा कमाउनेमा ज्योति लाइफ २० करोड ६५ लाख रुपैयाँ रहेको छ । यस्तै, प्राइम लाइफ र एशियन लाइफले पनि १८ करोड बढी नाफा कमाएका छन् ।

 

विगतका वर्षमा नम्बर वान रहँदै आएको नेपाल लाइफ भने घाटामा रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफ १९ करोड ४५ लाख नोक्सानीमा छ ।

३ जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का Read Previous

३ जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का

सुनको मूल्य सामान्य वृद्धि Read Next

सुनको मूल्य सामान्य वृद्धि