नाफा झन्डै दोब्बरले बढेपछि २३ अर्ब डलर लाभांश दिँदै साउदी अरामको

काठमाडौं। विश्वकै ठूलो तेल निर्यात कम्पनी ‘साउदी अरामको’को नाफा झन्डै दोब्बरले बढेको छ ।साउदी अरबको कम्पनी अरामकोको नाफा २०२२ को पहिलो त्रैमासमा ८२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा कम्पनीले कीर्तिमानी ३९ अर्ब ५० करोड अमेरिकी डलर आम्दानी गरेको छ ।

 

इन्धनको मूल्य बढेसँगै कम्पनीको आम्दानी र नाफा दुवै उल्लेख्य मात्रमा बढेको हो । सन् २०१९ मा सेयर बजारमा सूचीकृत भएयता विश्वभर तेल र ग्यासको मूल्य बढेपछि कम्पनीले सर्वाधिक कमाएको छ।

 

रुस युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यका साथै उत्पादन वृद्धि भएपछि नाफा बढेको कम्पनीले जनाएको छ । विश्वकै तेस्रो ठूलो तेल निर्यातकर्ता रुसलाई पश्चिमी राष्ट्रहरूले प्रतिबन्ध लगाएसँगै विश्वभर इन्धनको माग बढ्दा अरामकोको व्यापार ह्वात्तै बढेको छ ।

 

सेल, बीपी र टोटल इनर्जीज लगायतका अन्य तेल कम्पनीहरुको नाफा पनि बढेको जनाइएको छ । मार्चमा तेल र ग्यास उत्पादकहरुले आगामी पाँचदेखि आठ वर्षमा लगानी बढाउने र उत्पादनमा उल्लेखनीय वृद्धि गर्ने तेल कम्पनीले जनाएका छन्।

 

साउदी अरब ओपेक (पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन) मा सबैभन्दा ठूलो उत्पादक हो। यसले उत्पादन बढाएर इन्धन मूल्य घटाउन मद्दत गर्न सक्ने बताइएको छ।

 

अरामकोले लगभग दुई वर्षमा पहिलोपटक एप्पललाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । नाफा बढेसँगै अरामकोले अपेक्षाभन्दा बढी लाभांश दिने भएको छ । कम्पनीले १८.८ अर्ब डलर र ४ अर्ब डलरको बोनस सेयर वितरण गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुल्कमा विशेष छुट दिइने Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुल्कमा विशेष छुट दिइने

१३० पालिकाको नतिजा सार्वजनिक : एमालेलाई कांग्रेसले उछिन्यो, कुन दलले कति जिते ? Read Next

१३० पालिकाको नतिजा सार्वजनिक : एमालेलाई कांग्रेसले उछिन्यो, कुन दलले कति जिते ?