काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको भाउ बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २३.२ रुपैयाँ, डिजेलमा ४०.१३ रुपैयाँ घाटा रहेको तर मट्टितेलमा २.८१ नाफा रहेको निगमले जनाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ १२.६४ रुपैयाँ र बाह्यतर्फ ६४.६९ रुपैयाँ नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर १ हजार ५०.८ रुपैयाँ घाटा रहेको जनाइएको छ ।
मूल्य बढाए पनि निगमलाई अझै पेट्रोल र डिजेल बेच्दा घाटा रहेको छ । आगामी १५ दिनमा ४ अर्ब २५ करोड घाटा हुने निगमले जनाएको छ । हालसम्म निगमको घाटा ३५ अर्ब नाघेको छ ।