काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधा सम्पन्न भएको हो ।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार वैशाख ३० गतेसम्म सुरुङ खन्ने काम ५०.९० प्रतिशत पूरा भएको छ । आयोजनाका अनुसार हालसम्म २ हजार ७९७ मिटर सुरुङ खनिएको हो ।
पछिल्लो समय कामको गति बढाएको आयोजनाले कुल ५ हजार ४९९ मिटरमध्ये हालसम्म २ हजार ७९७ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो । कामलाई तीव्रता दिन हाल दैनिक करिब १० मिटर सुरुङ खन्न थालिएको छ ।
कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये १ हजार २०४ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ६०१ मिटर र धादिङतर्फ ६०३ मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ४१९ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ८२८ मिटर र धादिङतर्फ ५९१ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
हालसम्म आयोजनाको समग्रमा ३५.५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४५.५० प्रतिशत प्रगति भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ४८ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ १६ मिटर निर्माण गरिएको छ ।
यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार ७०२ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।
नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ । उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब १४ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।