काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद वित्तीय अवस्था खस्किन थालेको छ । विगतका वर्षहरुमा नम्बर वान जीवना बीमा कम्पनीको ताज पहिरिँदै आएको नेपाल लाइफको वित्तीय अवस्था १ वर्ष यता खस्किँदो अवस्थामा रहेको छ ।
विगतमा वर्षहरुमा सबैभन्दा धेरै व्यापार, नाफा कमाउने तथा सेयरधनीलाई समेत बम्पर लाभांश दिँदै आएको कम्पनीको वित्तीय अवस्था ओरालो लागेको छ ।
नेपाल लाइफले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले करिब साढे १९ करोड खुद नोक्सानी व्यहोरेको छ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद नोक्सानी १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो।
नोक्सानी व्यवस्थापनका लागि ५२ करोड ८२ लाख ९४ हजार रुपैयाँ छुट्याएसँगै कम्पनी घाटामा गएको हो । इन्स्योरेन्सले विगतका वर्षहरुको वैदेशिक रोजगार बीमाहरुको पुल व्यवस्था पनि यही त्रैमासमा गरेकाले खुद नाफामा ठूलो प्रभाव परेको हो ।
समीक्षा अवधिमा कम्पनीले २६ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, बीमालेख धितोबापत २३ अर्ब २२ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ।
त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क २५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी १० अर्ब ६० करोड ८६ लाख रुपैयाँ रहेको छ।
हाल ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडामा ४४ करोड ४९ लाख ६५ हजार रुपैयाँ सञ्चित छ । यस्तै, कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ र महाविपत्ती कोषमा ७२ करोड १८ लाख रुपैयाँ सञ्चित छ।
नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर ९.३८ रुपैयाँबाट घटेर ३.४१ रुपैयाँ ऋणात्मक भएको छ । प्रतिसेयर नेटवर्थ ११४.०३ रुपैयाँ छ ।