कपिलवस्तुमा ६ अर्ब लगानीमा सिमेन्ट उद्योग खुल्दै

काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर रहे पनि उद्योग थपिने क्रम जारी छ । विदेशी तथा स्वदेशी व्यवसायीले नयाँ सिमेन्ट उद्योगमा लगानी गरिहरेका छन् ।

 

नेपालमा मागभन्दा बढी सिमेन्ट उत्पादन क्षमता रहेको छ भने पछिल्लो समय निर्यात गर्ने बारे पहल समेत भइरहेको छ । निर्यात सम्भावना समेत रहेकाले सिमेन्ट उद्योगमा धमाधम लगानी थपिन थालेको हो ।

 

यसैक्रममा, कपिलवस्तुमा करिब ६ अर्ब लगानीमा सिमेन्ट उद्योग खुल्ने भएको छ । शिवराज नगरपालिका वडा नम्बर ७ मा ५ अर्ब ९० करोड लगानीमा गौरीशंकर सिमेन्ट सिमेन्ट उद्योग खुल्न लागेको हो ।

 

यस उद्योगले वार्षिक ७ लाख २६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त उद्योग संचालनमा आएपछि ३४० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

 

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि क्लिन्कर भने आयात गर्नुपर्ने अवस्था छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिन्छ ।

 

हाल नेपालमा ५ दर्जन उद्योगले सिमेन्ट उत्पादन गर्दै आएका छन् भने झन्डै ९० उद्योग दर्ता छन् ।  ती उद्योगहरुमा ३०० अर्ब रुपैयाँ बढी लगानी रहेको जनाइएको छ । नेपाली सिमेन्ट उद्योगको बजार १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको रहेको छ । यो क्षेत्रले हजारौंलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिएको छ ।

 

नेपाल सिमेन्ट उद्योग महासंघ अन्तर्गत ३१ सिमेन्ट उद्योग रहका छन् । हाल दुई दर्जन बढी क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योग रहेका छन् । वीरगन्ज, दाङ, हेटौंडा, उदयपुरलगायत क्षेत्र सिमेन्ट उद्योगका लागि प्रसिद्ध छन् । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । निजी क्षेत्रको उपस्थिति भएको छोटो अवधिमै मुलुक सिमेन्टमा आत्मनिर्भर बनेको हो ।

 

यसैगरी १९ वटा छड उद्योगहरु सञ्चालनमा रहेका छन् । रड तथा स्टिल उद्योगमा ७० अर्ब रुपैयाँ हाराहारीमा लगानी रहेको छ । सिमेन्ट र छड उत्पादनमा २ सय अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको व्यवसायी बताउँछन् ।

 

छड उत्पादनका लागि पनि आवश्यक फलामका ब्लेडको आयात भारतको दुर्गापुर, बंगाल, राहुलकेला, छत्तीसगढबाट हुने गरेको छ । सो फलामका ब्लेडहरु सुनौली/भैरहवा नाका हुँदै धेरै आयात हुन्छन् ।

 

नेपाल लाइफ १९ करोड नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक Read Previous

नेपाल लाइफ १९ करोड नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

गत वर्ष लाभांश दिएका यी २६ लघुवित्तले गरे बोनस सेयर सूचीकृत Read Next

गत वर्ष लाभांश दिएका यी २६ लघुवित्तले गरे बोनस सेयर सूचीकृत