चालु वर्षमा नेपालीले पिए पौने ३ अर्बको विदेशी मदिरा, ह्वीस्की मात्रै १ अर्बको

काठमाडौं । नेपालमा विदेशी मदिरा पिउने क्रम बढ्दो रहेको छ । पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपालमा विदेशी मदिरा खपत पनि बढ्न थालेको हो । जसकारण पछिल्ला वर्षहरुमा विदेशी मदिराको आयात बढ्दै गएको छ ।

 

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको चैतसम्ममा २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको विदेशी मदिरा आयात भएको छ । उक्त रकममा ५२ लाख ४६ हजार लिटर मदिरा पदार्थ आयात भएको हो । उक्त मदिरा आयातका क्रममा सरकारले ४ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

चालु आवको ९ महिनामै गत वर्षभरीमा ल्याइएकोभन्दा ६ करोड बढीको मदिरा आयात भएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा कुल २ अर्ब ६५ करोड ७ लाख रुपैयाँ बराबरको मादक पदार्थ आयात भएको थियो । गत वर्ष ६१ लाख ५६ हजार लिटर मदिरा आयात गर्दा ३ अर्ब ८८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

त्यसैगरी, आर्थिक वर्षम २०७६/७७ मा कुल ३ अर्ब करोड ५ लाख रुपैयाँ बराबरको मादक पदार्थ आयात भएको थियो । सो मूल्यमा ८१ लाख २७ हजार लिटर मादक पदार्थ आयात भएको थियो ।

 

ह्वीस्की मात्रै १ अर्बको आयात

 

विदेशबाट आयात हुने मदिरामा ह्वीस्की, वाइन, बियर, भोड्का, रम लगायत अन्य कच्चा पदार्थहरू रहेका छन् । जसमा सबैभन्दा धेरै १ अर्ब १५ करोड ४१ लाख रुपैयाँको ह्वीस्की आयात भएको छ ।

 

त्यस्तै,  २८ करोड ६१ लाख रुपैयाँ बराबरको वाइन, १ करोड २५ लाख रुपैयाँ बराबरको बियर, ६४ लाख ९९ हजारको भोड्का, ९७ लाखकाे जीन तथा ३ करोड बढीको लिक्योरियम तथा ६५ कराेड ६४ लाख बरावरकाे कच्चा पदार्थ आयात भएको छ ।

 

२ दर्जन देशबाट आयात, वेलायतबाट सबैभन्दा धेरै

 

नेपालमा मुख्यगरी २ दर्जन बढी देशबाट मदिरा आयात हुने गरेको छ । अष्ट्रेलिया,बेल्जियम, चीन, जर्मन, हङकङ, भारत, आयरल्याण्ड, मेक्सिको, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, बेलायत, अमेरिका, फ्रान्स, कोरिया, जापान, जर्मन, स्पेन, साउथ अफ्रिका, इटली लगायत देशबाट मदिरा आयात हुने गरेको छ ।

 

चालु आवमा वेलायतबाट सबैभन्दा धेरै मदिरा आयात भएको छ । चैतसम्ममा बेलायतबाट ६९ करोड ६ लाख ११ हजार रुपैयाँ बराबरको ह्वीस्की आयात भएको छ । यस्तै, बेलायतबाट ४० करोड ८७ लाख १८ हजार रुपैयाँ बाराबरको रम आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

 

त्यसैगरी, भारतबाट ११ करोड ४२ लाख रुपैयाँ बराबरको मदिरा आयात भएको छ । जसमा वियर मात्रै १ करोड ३४ लाख ५८ हजार रुपैयाँ बराबरको आयात भएको छ । यस्तै, फ्रान्सबाट ३१ करोड ७६ लाख रुपैयाँ बराबरको मदिरा आयात भएको छ । इटलीबाट २ करोड ६६ लाख रुपैयाँ बराबरको वाइन आयात भएको छ ।

 

अघि बढेन घरेलु रक्सीलाई ब्राण्डेड बनउने योजना

 

घरेलुस्तरमा उत्पादन हुने रक्सीलाई ब्रान्डेड बनाइ निर्यात गरिने बताइँदै आए पनि हालसम्म त्यसको कार्यान्वयनका लागि कुनै प्रकृया अघि बढाइएको छैन । ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सफल पार्न मौजुदा कानुन संशोधन, उत्पादनको स्तरोन्नति गर्दै स्थानीय, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै प्रचारात्मक गतिविधि सञ्चालन गर्न सकिने प्रस्ताव मन्त्रालयमा पुगे पनि त्यसमा सरकारले चाँसो देखाएको छैन ।

 

सरकारले घरेलु रक्सी उत्पादनलाई कानुनी रुपमा प्रतिबन्ध लगाइएको छ । यसको फुकुवा गर्न धेरै पटक पहल भए पनि केही हुन सकेको छैन । घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

 

कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदलले ७० पृष्ठको प्रतिवेदन तयार पारेको थियो ।

 

देशभर मदिरा पदार्थको बजार ४० अर्बभन्दा बढीको रहेको छ । ५५ वटाभन्दा बढी रक्सी बनाउने उद्योग छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा १४ वर्षदेखि ६० पर्षे उमेरका २९ प्रतिशतले मदिरापान गर्ने गरेको कुरा एक अनुसन्धानले देखाएको छ । त्यसको आधार मान्ने हो भने अहिले नेपालमा ४० प्रतिशतभन्दा बढी मदिरापान गर्नेहरू हुनसक्छन् ।

 

हरेक वर्षको बजेट भाषणमा सरकारले सुर्ती, चुरोट र मदिराजन्य पदार्थमा राजस्व वृद्धि गरिरहेको पाइन्छ । सरकारले मदिरा उत्पादन तथा आयातबाट भन्सार, अन्तःशुल्क, भ्याट, राजस्व, आयकरसहित असुल गर्दै आएको छ । त्यसमध्ये अन्तःशुल्क तर्फको मदिराबाट मात्र वर्षेनी २५ अर्बभन्दा बढी राजस्व उठ्ने गरेको छ ।

 

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था Read Previous

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

नेपाल लाइफ १९ करोड नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक Read Next

नेपाल लाइफ १९ करोड नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक