काठमाडौं । अमेरिकी डलर संचितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार चैत महिनामा ३ करोड डलर थपिएको छ ।
फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर संचिति रहेकोमा चैत मसान्तसम्म बढेर ९ अर्ब ६१ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा यो रकमले ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने देखिएको छ ।
नेपाल राष्ट्र बंकले आयातमा गरेको कडाइ र रेमिट्यान्स आप्रवाहमा आएको सुधारमा कारण डलर संचिति थपिएको हो ।
यस्तै, २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई रु.१०२१ अर्ब ४५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई रु.१४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।