काठमाडौं । बजारमा कुखुराको मासुको खपत ह्वात्तै बढेको छ । विहेको सिजनसँगै चुनावी गतिविधि बढ्दा मासुको खपत बढेको हो ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार सामान्य समयमा दैनिक ५ लाख केजी कुखुराको मासुको खपत हुने गरेकोमा अहिले बढेर ८ लाख केजी पुगेको छ । पछिल्लो समय दैनिक करिब ३ लाख केजी थप मासु खपत हुन थालेको हो ।
स्थानीय चुनाव नजिकिएसँगै राजनीतिक दलहरूले प्रचारप्रसार, आमसभा, भेला गरिरहेका छन् । ती कार्यक्रममा परिचालन गरिएका कार्यकर्तालाई खुवाउन मासुको माग बढेको बताइएको छ । साथै, विहे, ब्रतबन्धको सिजन भएकाले पनि मासुको माग बढेको हो ।
कुखुराको मासुको माग बढेसँगै मूल्य पनि बढेको छ । दुई साता अघिसम्म प्रतिकिलो ४०० रुपैयाँ हाराहारीमा रहेको मासुको मूल्य अहिले ४५० देखि ४७० रुपैयाँसम्म पुगेको छ । कोभिड यता कुखुराको मासुको मूल्य ४२० रुपैयाँभन्दा माथि पुगेको थिएन ।
मासुको माग बढे पनि उत्पादन भने बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । राष्ट्रिय कुखुरा व्यवसाय संघका अध्यक्ष जंगबहादुर बीसीले पछिल्लो समय माग भन्दा ४० प्रतिशत कम कुखुराको मासु उत्पादन भइरहेको बताए । उनले बर्डफ्लूका कारण धेरै ठाउँमा किसानले कुखुरा पाल्न छोडेकाले उत्पादन घटेको बताए ।
‘खपत बढेको हो तर, उत्पादन मागभन्दा ४० प्रतिशत कम छ, बडफ्लूले गर्दा धेरैले चल्ला किनेका छैनन्, त्यसले गर्दा पनि उत्पादन कम छ,’ बीसीले भने ‘उपत्यकामा भन्दा उपत्यका बाहिर मासुको माग बढेको छ ।’
उनले उपत्यका बाहिर २० प्रतिशत हाराहारीमा मासुको खपत बढेको बताए । उनले उपत्यका बाहिर चुनावी माहोलका कारण खपत बढ्न गएको बताए ।उनका अनुसार गत वर्ष सोही अवधिमा कुखुराको मासुको माग झण्डै साढे ४ लाख केजी दैनिक रहेको थियो । सो अवधिमा उपत्यका भित्र २ लाख केजी र बाहिरी जिल्लामा डेढ लाख केजी दैनिक कुखुराको मासु खपत भएको उनले बताए ।
सो समयमा कोभिडका कारण कुखुराको मासको माग घटेको थियो । किसानहरूले समेत कुखुराको मासुको उत्पादन कम गरेका थिए । उनले मूल्य बढ्नुमा कुखुराको उत्पादन कम भएको बताए ।
विगतमा यो समयमा बल्लाको माग बढ्ने गरे पनि यो वर्ष चल्लाको माग निकै कम रहेको उनले बताए । विभिन्न स्थानमा कुखुरामा बडफ्ल्यो देखिएपछि किसानहरूले चल्ला नकिनेको उनले बताए ।
कोभिडका समयमा १८ करोड ९० लाख रुपैयाँ हाराहारीको चल्ला उत्पादन मध्ये ४ करोड ३५ लाख रुपैयाँ हाराहारीको मात्र विक्री हुने गरेका थिए । पोल्ट्री व्यवसायीहरूले कुखुराको चल्लामा साताको १४ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो ।
कोभिडका कारण निरासाजनक अवस्था र त्यसपछि बर्डफ्लूका कारण किसानहरू कुखुरा पाल्नबाट विस्तापित हुँदै गएको उनले बताए । देशभर प्रतिहप्ता ३० लाख हाराहारीमा ब्रोइलर कुखुरा उत्पादन हुने गरेका थिए । प्रतिहप्ता ब्रोइलर कुखुराको उत्पादन लागत ७५ रुपैयाँ हुने गर्छ । कुल ब्रोइलर कुखुरा उत्पादनको लागत मूल्य १७ करोड १० लाख रुपैयाँ रहेको छ । उत्पादन भएका मध्ये १५ लाख बोइलर कुखुरा मात्र विक्री हुने गरेको थियो ।
बर्डफ्लूका कारण कुखुराहरू मरेकै कारण अण्ड उत्पादनमा समेत असर परेको छ। पछिल्लो समय अण्डाको मूल्य समेत बढेको छ । अहिले अण्डाको मूल्य प्रतिक्रेट ४२० रुपैयाँ पुगेको छ ।