बैंकसहित यी क्षेत्रका कर्मचारीले सातामा दुई दिनभन्दा बढी बिदा नपाउने

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय राजत्रमा प्रकाशित गरेको छ । गृह मन्त्रालयले सातामा दुई दिने बिदा दिने निर्णय राजपत्रमा प्रकाशन गरेसँगै जेठ १ गतेदेखि कार्यन्वयनमा आउने भएको हो ।

 

अब जेठ १ गतेदेखि हरेक साता शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने छ । राजपत्रमा प्रकाशित सूचना अनुसार लगातार दुई दिनभन्दा बढी सार्वजनिक बिदा परेमा बैंकिङल, स्वास्थ्य लगायत अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रका कर्मचारीले भने सो बिदा नपाउने भएका छन् ।

 

तर, यसरी सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने छ ।

 

‘संवत् २०७९ सालको लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्य चौकी रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने,’ गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ ।

 

जेठ १ देखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म खुल्नेछन् । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ५ः३० देखि साँझ ४ः३० सम्म हुनेछ ।

 

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

चुनावले बढायो दैनिक थप ३ लाख केजी मासुको खपत, भाउ किलोकै रू. ४५० पुग्यो Read Next

चुनावले बढायो दैनिक थप ३ लाख केजी मासुको खपत, भाउ किलोकै रू. ४५० पुग्यो