काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको खुद नाफामा भारी गिरावट आएको छ । इन्स्योरेन्सले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड ७२ लाख खुद मुनाफा कमाएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ६६.९४ प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिमा ८ करोड २५ लाख खुद मुनाफा कमाएको थियो ।
इन्स्योरेन्सले नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनु परेकाले खुद नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीले नोक्सानी व्यवस्थापनका लागि ११ करोड १८ लाख रुपैयाँ छुट्याएको छ ।
समीक्षा अवधिमा युनियनकोे खुद बीमा शुल्क संकलन ९४ करोडले बढेर ५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ५ करोड बीमा शुल्क संकलन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी ८ करोडले बढेर ५५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यस्तै, बीमालेख धितोबाट ६ करोड ९२ लाख आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीले २ अर्ब ३५ करोड दाबी भुक्तानी गरेको छ ।
हाल २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.४७ रुपैयाँ रहेको छ |