काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ वर्षको अवधिमा लक्ष्यको आधा मात्र आकाशे पुल निर्माण सम्पन्न गरेको छ । महानगरपालिकाले यस अवधिमा १० वटा आकाशे पुल निर्माण गर्ने लक्ष्य राखेकोमा ५ वटा मात्र सम्पन्न गरेको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा यात्रुको उच्च चाप हुने विभिन्न १० मुख्य सडक र चोकमा आकाशे पुल निर्माण गर्ने योजना बनाएको थियो । काठमाडौंको कोटेश्वर चोक, कालीमाटी चोक, सोह्रखुट्टे चोक, महाराजगञ्ज, बानेश्वर, मित्रपार्क, चाबहिल, माइतीघर, जयवागेश्वरी, रामशाह पथमा आकाशे पुल निर्माण गर्ने महानगरको योजना रहेको थियो ।
तर, यस अवधिमा ५ स्थानमा मात्र आकाशे पुल निर्माण सम्पन्न गरेको हो । महानगरका अनुसार ५ वर्षमा काठमाडौंको चाबहिल, जयवागेश्वरी, माइतीघर, बानेश्वरमा २ वटा (बानेश्वर चोक र अनामनगर जाने बाटोमा) आकाशे पुल निर्माण सम्पन्न भई संचालनमा आएका छन् ।
निर्माण हुन बाँकी अन्य ५ स्थानको आकाशे पुलमध्ये केही निर्माणाधीन अवस्थामा रहेका छन् भन केहीको अझै काम सुरु हुन सकेको छैन । अहिले चाबहिल र मित्रपार्कमा पुल निर्माण भइसकेको छ भने कोटेश्वरको अझै सुरु हुन सकेको छैन ।
चाबहिल र मित्रपार्कमा भ्याटबाहेक १ करोड ३० लाख ४२ हजार ५७८ लागतमा आकाशे पुल बन्न लागेका हुन् । ती पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइका हुनेछन् ।
कोटेश्वरको आकाशे पुल निर्माणमा स्थानीयले अवरोध खडा गरेपछि उक्त स्थानमा अझै पुल निर्माण सुरु हुन नसकेको हो । डिजाइन भएको स्थानभन्दा ८० मिटर अन्तरमा पुल बनाउन स्थानीयले माग गरेका थिए । तर, अझै कहाँनिर पुल बनाउने भन्ने विषय टुंगो लाग्न सकेको छैन ।
कुन ठाउँमा कति करोडमा बने पुल ?
तोकिएको अवधिभन्दा ३ महिना ढिला भएको चावहिल आकाशे पुल ८२ लाख ६६ हजार ७८३ रुपैयाँ लागत निर्माण भएको हो । २०७६ माघ ९ शिलान्यास गरिएको उक्त पुल २०७७ असोजमा सम्पन्न भएको थियो । २३ मिटर लम्बाइ र चौडाइ २ मिटरको उक्त पुल कान्छामान निर्माण सेवाले निर्माण गरेको हो ।
यस्तै, बानेश्वरको आकाशे पुल ३ करोड ५२ लाख रुपैयाँमा निर्माण भएको हो । ३८ मिटर लम्बाइ र ३ मिटर चौडाइको उक्त पुल प्राकृतिक एन्ड पवन जेभी कम्पनीले निर्माण गरेको हो । ९ महिना भित्र सम्पन्न गर्नेगरी २०७६ वैशाखमा सुरु गरिएको सो पुल झन्डै डेढ ढिला निर्माण पूरा भएको थियो ।
यस्तै, चाबहिलमा २३ मिटर लम्बाइ र २ मिटर चौडाइको पुल निर्माण भएको छ। पुल ८२ लाख ६६ हजार ७८३ रुपैयाँ लागतमा कान्छामान निर्माण सेवा निर्माण सम्पन्न गरेको हो ।
माइतीघरको आकाशे पुल ६८ लाख ७३ हजार १५३ रुपैयाँमा निर्माण गरिएको हो । सो पुल कोशी बिल्डर्स मोरङले निर्माण गरेको हो ।
काठमाडौंमा आकाशे पुलको विकास पहिलोपटक २०४० को दशकमा सुरु भएको हो । तत्कालीन नगर विकास पञ्चायतले आकर्षकद्वारसहितको दुईवटा पुल सुन्धारा र अहिलेको विद्युत् प्राधिकरण अघि बनाएको थियो ।
साँघुरो बाटोमा बनाइएको सो पुल २०५५ सालमा केशव स्थापित मेयर हुँदा बाटो विस्तारका लागि भत्काइएको थियो । पछि उनैको पालामा रत्नपार्कमा पुल निर्माण गरिएको थियो ।