के रुसको तेल र ग्यास बिना बाँच्नै नसकिने अवस्था छ ?

काठमाडौं । रसियाले युक्रेनलाई आक्रमण गरेसँगै उसलाई युरोपेली युनियन (ईयू) र अमेरिकाले आर्थिक नाकाबन्दी लगाए ।

 

ईयूले यस वर्षको अन्त्यसम्ममा रुसी तेलको सबै खरिदमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । तर, रुसी ग्यासको आयात रोक्ने विषयमा युरोपेली संघका सदस्यहरूबीच अहिलेसम्म कुनै सहमति भएको छैन।

 

रुसी तेल र ग्याससम्बन्धी के-कस्ता प्रतिबन्ध लगाइएका छन् ?

 

युरोपेली संघकी अध्यक्ष उर्सला भोन डेर लेयनले २०२२ पछि ईयूका कुनै पनि सदस्यले रुसबाट तेल खरिद गर्न नपाउने घोषणा गरिसकेकी छन् । ईयूले हंगेरी र स्लोभेकियालाई मात्र वैकल्पिक आपूर्तिको खोजी गर्न थप २०२३ सम्मको समय दिइएको छ ।

 

ईयूले सन् २०२२ को मार्चदेखि नै रुसबाट आयात गर्ने ग्यासको मात्रा दुई तिहाइले घटाउने प्रतिबद्धता जनाएको थियो । यसमा रुसप्रतिको निर्भरता थप कम गर्नलाई छलफल भइरहेको छ ।

 

अमेरिकाले रुसले युक्रेनमा आक्रमण सुरु गर्ने बित्तिकै रुसी तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले यस वर्षको अन्त्यसम्ममा रुसी तेललाई चरणबद्ध गर्ने भएको छ।

 

यसैबीच, रुसले आफ्नो तेलमाथि प्रतिबन्ध लगाएमा ‘विश्व बजारका लागि विनाशकारी परिणाम’ निम्त्याउने चेतावनी दिएको छ। तर, अनेकौँ आर्थिक प्रतिबन्धका बाबजुद रुसले युरोपेली युनियनलाई जीवाष्म इन्धन विक्री गरी आफ्नो मासिक आम्दानी दुई गुणाले बढाइरहेको छ ।

 

युक्रेनमा युद्ध सुरु भएदेखि ईयूले रुसबाट हरेक महिना २३ अर्ब डलर बराबरको इन्धन आयात गरिसकेको बताइएको छ । जबकी सन् २०२१ मा ईयूले प्रतिमहिना १२.५ डलगरको इन्धन आयात गरेको थियो ।

 

रुसले कति तेल निर्यात गर्छ ?

 

अमेरिका र साउदी अरेबिया पछि रसिया विश्वको तेस्रो ठूलो उत्पादक हो। प्रतिबन्धहरू घोषणा हुनुअघि रूसको लगभग आधा कच्चा तेलको निर्यात युरोपमा गयो।२०२० मा नेदरल्यान्ड्स र जर्मनीले रुसबाट प्रतिदिनको हिसाबले सबैभन्दा बढी तेल आयात गरेका थिए ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) अनुसार २०२३ सम्म विकल्प खोज्न समय दिइएको स्लोभाकिया र हंगेरीले रुसबाट क्रमशः ९६ र ५८ प्रतिशत तेल आयात गर्छन् । अमेरिका र बेलायतले चाहिँ तुलनात्मक रूपमा रुसबाट धेरै कम तेल आयात गर्दै आएका छन् । सन् २०२० मा अमेरिकाले रुसबाट जम्मा ३ प्रतिशत र वेलायतले ८ प्रतिशत तेल आयात गरेका थिए ।

 

रुसी तेलको विकल्प के हो ?

 

रिसर्च विश्लेषक बेन मेकविलियम्स भन्छन् ग्यासभन्दा तेलको विकल्प खोज्न सजिलो हुनेछ । यसअघि, (इन्टरनेसनल एनर्जी एजेन्सी)आईईएका सदस्य राष्ट्रहरूले आफ्नो तेल भण्डारणबाट झन्डै १२० मिलियन (१.२० करोड) ब्यारल तेल निकालेका थिए । यो भनेको इतिहासकै सबैभन्दा ठूलो रिलिज हो ।

 

मार्चको अन्त्यमा, अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च इन्धन लागत घटाउने प्रयासमा अमेरिकाको भण्डारबाट ठूलो मात्रामा तेल निकाल्ने आदेश दिएका थिए।

यस्तै, अमेरिकाले साउदीलाई पनि तेल उत्पादन बढाउन दबाब दिइरहेको छ भने भेनेजुएलाबाट आयात गर्न त्यसमाथिको प्रतिबन्ध खुकुलो पार्ने विचार गरिरहेको छ ।

 

रुसबाट ग्यासको आपूर्तिमा कस्तो प्रभाव ?

 

युक्रेनमा हमला गरेपछि पनि रुसले ठूलो मात्रामा युरोपभर ग्यास निर्यात गरिरहेको छ । तर, पश्चिमा शक्तिहरूले यसमाथि आर्थिक प्रतिबन्ध जारी गरेपछि भने राष्ट्रपति पुटिनले अमैत्रीपूर्ण देशहरूले अबबाट ग्यास खरिद गर्दा रुसी मुद्रा रुबलको प्रयोग गर्नुपर्ने घोषणा गरेका हुन् ।

 

रुसको राष्ट्रिय स्वामित्वमा रहेको ऊर्जा कम्पनी गेजप्रोमले यसअघि पोल्यान्ड र बुल्गेरियामा ग्यासको आपूर्ति कटौती गरेको थियो र रुबलमा भुक्तान नगरेसम्म निर्यात जारी नगर्ने चेतावनी दिएको हो ।

ईयूले रुसको यस्तो नीतिलाई ‘ब्ल्याकमेल’ ठहर गरिरहेको छ । तर, मेको मध्यसम्ममा अन्य ईयू राष्ट्रहरूले पनि यस्तै किसिमको अवरोध सामना गर्नुपर्ने छ ।युरोपले तेल र ग्यासका लागि रुबलमा भुक्तान सुरु गर्नासाथ यसले रुसी मुद्राको भाउ बढाइदिने छ र नतिजास्वरूप त्यहाँको अर्थतन्त्रलाई फाइदा पुग्ने छ ।

 

कसले तिरिरहेको छ त रुबलमा ?

 

यसअघि, अध्यक्ष उर्सलाले रुसी मागको सम्बोधन गर्नु भनेको युरोपेली युनियनका प्रतिबन्धहरूको उल्लंघन गर्नु बराबर भएकाले यसो गर्ने कम्पनीहरू जोखिममा पर्ने चेतावनी दिएकी थिइन् । युरोपेली राष्ट्रहरू रुसी ऊर्जा आपूर्तिप्रतिको निर्भरताबाट कसरी मुक्त हुने भनेर निश्चित हुन सकिरहेका छैनन् ।

 

अहिले जर्मनीसहित हंगेरी र स्लोभेकिया लगायतका कम्पनीहरूले ग्यासका लागि रुसी बैंकमार्फत युरोमा भुक्तान गर्ने बताइरहेका छन्, जसमा पछि मात्र उक्त बैंकले भुक्तानलाई रुबलमा परिणत गराइदिने छ । यसो गर्नुले ईयू प्रतिबन्धको कुनै उल्लंघन नहुने बताइएको छ । अस्ट्रिया र इटलीले पनि रुसी बैंक गेजप्रोम बैंकमा अकाउन्ट खोल्ने योजना बनाइरहेको खबर गरिएको थियो ।

 

युरोपमा कति ग्यास आपूर्ति गर्छ रुस ?

 

२०१९ मा मात्र युरोपमा आयात गरिएको ४१ प्रतिशत ग्यास रुसबाट आएको थियो । यस्तोमा रुसले युरोपमा ग्यास आपूर्ति बन्द गर्‍यो भने विशेषगरी जर्मनी र इटली संवेदनशील अवस्थामा पुग्नेछन् ।

अमेरिकाले रुसबाट कुनै ग्यास आयात गर्ने गरेको छैन र बेलायतले पनि केबल ५ प्रतिशत मात्र रुसबाट भित्र्याउँदै आएको छ । रुसले विभिन्न मुख्य पाइपलाइनमार्फत युरोपमा ग्यास पठाउने गरेको छ । यसमा पहिले ग्यासलाई क्षेत्रीय भण्डारणमा संकलन गरिन्छ अनि युरोपभर बाँडिन्छ ।

 

के रुसी ग्यासको केही विकल्प छ ?

 

युरोपले ग्यासका लागि कतार, अल्जेरिया वा नाइजेरियासँग व्यापार बढाउन सक्छ । तर, त्यसमा पनि उत्पादन तीव्ररूपमा विस्तार गर्नेसम्बन्धी थुप्रै व्यावहारिक अवरोधहरू छन् ।

 

यता अमेरिकाले युरोपलाई वर्षको अन्त्यसम्म १५ अर्ब क्युबिक मिटर बराबर तरल पारिएको प्राकृतिक ग्यास पठाउने भनेको छ । यसैगरी, युरोपले सौर्य ऊर्जा, विन्ड पावरलगायत दिगो श्रोतहरूबाट पनि ऊर्जा उत्पादन बढाउन सक्छ । तर, यसलाई पनि चुनौतीमय नै मानिएको छ ।

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ? Read Previous

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?