चुनावपछि भाउ बढ्ने हल्लाले ग्यास लुकाउँदै व्यापारी, १० विक्रेता कारबाहीमा

काठमाडौं । आयल निगमले ग्यास आयात निरन्तर भइरहेको बताए पनि बजारमा भने ग्यास अभाव भएको छ । पछिल्लो एक महिना यता कायम रहेको कृत्रिम अभावले अझै आपूर्ति सहज हुन सकेको छैन ।

 

यसअघि पनि बिना कारण कृत्रिम अभाव गराएका व्यापारीले अहिले भने चुनावपछि भाउ बढ्ने हल्लाका कारण ग्यास लुकाउन थालेका छन् । सरकारले नेपाल आयल निगमलाई परल मूल्य (खरिद मूल्य)मा नै इन्धन विक्री गर्न अनुमति दिने हल्ला बाहिरिएसँगै विक्रेताहरुले धमाधम ग्यास लुकाउन थालेका हुन् ।

 

अहिले सस्तोमा किनेको ग्यास भाउ बढेमा मनग्ये नाफा कमाउन सकिने आशामा विक्रेताहरुले ग्यास लुकाउन थालेका हुन् । निगमले अहिले प्रतिसिलिण्ड २६५०.१८ रुपैयाँमा खरिद गरेको ग्यास १ हजार ५०.१८ रुपैयाँ घाटा खाएर १ हजार ६०० रुपैयाँ विक्री गर्दै आएको छ ।

 

यदि, निगमले चुनावपछि परल मूल्यमै ग्यास बेच्ने निर्णय गरे अहिले लुकाएर राखेको ग्यास बेचेर प्रतिसिलिण्डर १ हजार नाफा कमाउन सकिने देखेर व्यापारीहरुले ग्यास लुकाएका हुन् ।

 

अहिले दुई साता अघि डिलरमा नाम टिपाएका उपभोक्ताहरुले समेत ग्यास पाउन सकेका छैनन् भने विक्रेताहरुले ग्यास आएको छैन भन्दै टार्ने गरेका छन् । देश चुनावी माहोलमा होमिएकाले पनि सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसक्दा व्यापारीहरुले कृत्रिम अभाव सृजना गरेका हुन् ।

 

दैनिक १२५ बुलेट ग्यास आयात, तर छैन आपूर्ति

 

एलपी ग्यास उद्योग महासंघका महासचिव कृष्णभक्त श्रेष्ठ खाना पकाउने ग्यास पर्याप्त रुपमा आइरहेको बताउँछन् । उनले दैनिक १२५ बुलेट खाना पकाउने ग्यास आयात भइरहेको बताए ।

 

वैशाख पहिलो सातासम्म नाकामा ढुवानीका कारणले ग्यास ल्याउन समस्या भए पनि पछिल्लो समय खाना पकाउने ग्यास लगातार विना अवरोध आयात भइरहेको उनले बताए ।

 

‘खाना पकाउने ग्यास पर्याप्त रुपमा आइरहेको छ, सहजै आयात पनि भइरहेको छ, हामीले बजारमा पठाइरहेका छाँै,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘पसलबाट विक्रेताले किन दिइरहेका छैनन् थाहा छैन ।’

 

दैनिक ७५ देखि ८० बुलेट ग्यास आवश्यक पर्छ । एक बुलेटमा १ हजार २५० सिलिन्डर ग्यास आउने गर्छ । उनले पछिल्लो समय स्टक समेत नराखी ग्यास वितरण गरिरहेको बताए ।

 

१० विक्रेतालाई कारबाहीमा

 

वैशाख यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास उद्योग तथा वितरण केन्द्रहरुमा अनुगमन बढाएको जनाएको छ । विभागका शाखा अधिकृत धनेश्वर पौडेलले ग्यासलाई केन्द्रीत गरेर अनुगमन गतिविधि अघि बढाइरहेको बताए । उनले उजुरी आए अनुसार र सिभिलमा गएर समेत ग्यासको अनुगमन गरिरहेको बताए । उनले ग्यास भएर पनि छैन भन्दै कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल २० हजारसम्मको जरिवाना गरिएको बताए ।

 

‘हामीले ग्यासलाई नै केन्द्रीत गरेर अनुगमन गरिरहेका छौं, कुनै दिन पनि ग्यास विक्रेता तथा उद्योगमा अनुगमन नगरेको दिन छैन, सिभिलमा गएर समेत अनुगमन गरेर कारबाही गरेका छौं,’ पौडेलले चाणक्य पोष्टसँग भने ‘यसरी कृत्रिम अभाव सृजना गर्नेलाई हामीले तत्काल ५ देखि २० हजार रुपैयाँसम्म कारबाही गरेका छौं ।’

 

उनले वैशाख यता १०० वटा बढी ग्यास उद्योगमा अनुगमन भएको जानकारी दिए । सो मध्ये १० वटा बढी ग्यास उद्योग तथा पसललाई परिवाना तथा अन्य कारबाही गरिएको उनले बताए । विभागले वैशाख यता १८० वटा बढी अनुगमन गरेको छ । सोमध्ये १ सय बढी ग्यास उद्योग तथा पसलहरुमा अनुगमन गरेको छ ।

 

विभागले वैशाख यता १० विक्रेतालाई कारबाही गरेको छ । विभागले ग्यास भएर पनि उपभोक्तालाई नदिने शंखमूल, लगनखेल, गठ्ठाघर, नागर्जुन, चन्द्रागिरि लगायत ठाउँका विक्रेतालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरेको हो ।

 

सार्थक हुँदै नबिल र बंगलादेश बैंकको एक्वीजिसन, स्वाप रेसियो औपचारिक रुपमा स्वीकृति गरिँदै Read Previous

सार्थक हुँदै नबिल र बंगलादेश बैंकको एक्वीजिसन, स्वाप रेसियो औपचारिक रुपमा स्वीकृति गरिँदै

वैशाख ३० गते आन्तरिक हवाई उडान पनि बन्द हुने Read Next

वैशाख ३० गते आन्तरिक हवाई उडान पनि बन्द हुने