साझाका विद्युतीय बस आज टेकुमा जाँच गरिँदै

काठमाडौं । साझाले चीनबाट ल्याएको ३ वटा विद्युतीय बस आज  टेकुस्थित भेहिकल फिटनेस सेन्टरमा जाँच गरिने भएको छ । चैत ३० गते तातोपानी नाका हुँदै नेपाल भित्रिएका ती बस संचालन योग्य छन् /छैनन् भनेर जाँच गर्न लागिएको हो ।

 

साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधारले आज टेकुमा ३ वटा बसको जाँच हुन लागेको बताए । उनले भेहिकल टेष्ट गरेपछि विभागमा दर्ता गरेर रुट स्वीकृत भएपछि मात्र बस गुडाउन योग्य हुने बताए ।

 

‘आज बस टेष्ट गर्न टेकु लगिँदैछ, जाँच छि विभागमा दर्ता गराएर रुट पाएपछि मात्र सडकमा गुडाउने हो,’ तुलाधारले चाणक्य पोष्टसँग भने । साझाले उक्त बस चालु आवभित्रै गुडाउने योजना बनाएको छ ।

 

हाल चिनियाँ कम्पनीले साझाका ४० वटा बस निर्माण गरिरहेको छ । पहिलो चरणमा ल्याइएका ३ वटा विद्युतीय बस उपत्यकाका सडकमा परीक्षण गरिनेछन् । परीक्षण सफल भएपछि बाँकी ३७ वटा विद्युतीय बस ल्याइने छ ।

 

चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए । साझा यातायात र चीनको सीएचटीसि कम्पनी बीच गत असोज २२ गते सम्झौता भएको थियो । त्यस लगत्तै चिनियाँ कम्पनीले विद्युतीय बस निर्माण सुरू भएको थियो ।

 

साढे ८ मिटर लामो २६ सिटे विद्युतीय बस ल्याउन लागिएको हो । साझा यातायातले भ्याटसहित कुल ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । एउटा गाडीको मूल्य भ्याटसहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

 

बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको तुलाधारले बताए ।

 

२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । साझाले पहिलो चरणमा साढे ८ मिटर लामो बस ल्याउने तयारी गरेको छ । त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरू समेत ल्याउने योजना रहेको साझाले जनाएको छ । यी बसहरूमा वाइफाइ, टीभी डिसप्ले, सीसी क्यामेरा लगायतका विशेषता हुनेछन् ।

जीडीपीमा वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी, अन्य प्रदेशको कति ? Read Previous

जीडीपीमा वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी, अन्य प्रदेशको कति ?

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी