जीडीपीमा वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी, अन्य प्रदेशको कति ?

काठमाडौं । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ ।

 

केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८/७९ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको हिस्सा ३६.९ प्रतिशत हुने अनुमान छ ।

 

चालु आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ । अनुमानित तथ्याङ्कअनुसार सबै प्रदेशको आर्थिक क्रियाकलाप कोभिड-१९ महामारी सङ्क्रमणपश्चात सामान्य अवस्थातर्फ फर्कन खोजेको विभागको निष्कर्ष छ ।

 

प्रदेश १ : यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ७ खर्ब ६३ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब  रू. ६ खर्ब ७६ अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

 

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.३ प्रतिशतले थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको (कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।

 

मधेश प्रदेश : यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ६ खर्ब ४४ अर्ब  हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब  रू. ५ खर्ब ७२ अर्ब  रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १३.३ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

 

यसैगरी, गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.८ प्रतिशत थियो भने यस आवमा सुधार आई ४.८ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३४.३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन् क्षेत्रको रहेको छ ।

 

 वाग्मती प्रदेश :  यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू. १५ खर्ब ६८ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ३६.९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

 

यसैगरी, गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.६ प्रतिशत थियो भने यस आवमा सुधार आई ६.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २५.१ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले कला तथा मनोरन्जन आदि  क्षेत्रको रहेको छ ।

 

गण्डकी प्रदेश :  यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ४ खर्ब ३२ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू. ३ खर्ब ८० अर्ब  रहेको छ ।  गत आवमा जस्तै यस प्रदेशले चालु आवमा पनि राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

 

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.७  प्रतिशत थियो भने यस आवमा सुधार आई ६.२ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २६.० प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा  क्षेत्रको रहेको छ ।

 

लुम्बिनी प्रदेश : यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ६ खर्ब ८५ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू.६ खर्ब ४१ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा पनि सोहि प्रतिशत नै योगदान पुर्याउने अनुमान गरिएको छ ।

 

यसैगरी, गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.१ प्रतिशत थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २९.४ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशतले प्रशासनिक सहयोगी सेवा  क्षेत्रको रहेको छ ।

 

कर्णाली प्रदेश :  यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. १ खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब रू. १ खर्ब ७६ अर्ब   रहेको छ । गत आवमा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ ।

 

यसैगरी गत आवमा कुलगार्हस्थ उत्पादनको वृद्धिदर ४.३ प्रतिशत थियो भने यस आवमा सुधार आई ५.५ प्रतिशत हुने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३१.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

 

 सुदूरपश्चिम प्रदेश :  यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू. ३ खर्ब १२ अर्ब रहेको छ । गत आवमा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

 

यसैगरी गत आवमा कुलगार्हस्थ उत्पादनको वृद्धिदर ४.२ प्रतिशत थियो भने यस आवमा सुधार आई ४.९ प्रतिशत हुने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले प्रशासनिक सहयोगी सेवा  क्षेत्रको रहेको छ ।

 

 

अमेरिकाले नेपाललाई ८० अर्ब अनुदान उपलब्ध गराउने Read Previous

अमेरिकाले नेपाललाई ८० अर्ब अनुदान उपलब्ध गराउने

साझाका विद्युतीय बस आज टेकुमा जाँच गरिँदै Read Next

साझाका विद्युतीय बस आज टेकुमा जाँच गरिँदै