काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले विद्यार्थीलाई टिकट शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले एसईई परीक्षा सकाएर बसेका विद्यार्थीलाई केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने भएको हो ।
उक्त छुट पाउनका लागि विद्यार्थी एसईईको प्रवेशपत्र देखाउनु पर्नेछ । यो अफर यही वैशाख ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
हालै मात्र कम्पनीले केबलकार चढ्न जाने यात्रुको सुविधाका लागि निःशुल्क बस सेवा संचालनमा ल्याएको छ । केबलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
केबलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० मा बाराही चोक, ४:४५ मा सेन्टर पोइन्ट र ४:५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्ने कम्पनीले जनाएको छ ।