काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्ला गरिए पनि केही सुरक्षाकर्मीको सर्च अप्रेसनमा कुनै वस्तु फेला परेन ।
आज विहान एक अज्ञात व्यक्तिले फोन मार्फत आन्तरिक टर्मिनलमा आधादर्जन बम राखिएको बताए पनि तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोलीले सर्च गर्दा केही नभेटिएको हो ।
बम राखिएको हल्लापछि सबै यात्रुलाई बाहिरि निकालिएर उडान बन्द गरिएको थियो । तर, सुरक्षाकर्मीको सर्च अप्रेसनपछि केही नभेटिएपछि पुनः उडानको तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ थापाले जानकारी दिए ।
आज विहान १० बजेदेखि विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको थियो । बम राखेको हल्ला फैलिएसँगै तुरुन्तै तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मी र नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थल पुगेका थिए ।