हिमालयन बैंकका सेयरधनीले गत वर्षको लाभांश पाउने, नरोक्न अदालतको परमादेश

काठमाडौं । हिमालयन बैंकका सेयरधनीले गत वर्षको लाभांश पाउने भएका छन् । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएसँगै सेयरधनीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पाउने भएका हुन् ।

 

नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडेपछि नेपाल राष्ट्र बैंकले हिमालयनलाई लाभांश वितरणमा रोक लगाएको थियो । राष्ट्र बैंकको सो निर्णय विरुद्ध हिमालयन बैंकले २०७८ मंसिर १० गते  उच्च अदालत पाटनमा मुद्दा हालेको थियो।

 

बैंकको सोही मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले लाभांश वितरणमा रोक नलगाउन परमादेश जारी गरेको हो । अदालतले
राष्ट्र बैंकलाई हिमालयन बैंकलाई लाभांश वितरणमा लगाइएको रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

 

‘हिमालयन बैंकबाट सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे जे गर्नुपर्ने हो गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ।

 

यद्यपि, अदालतले गत चैत ३० गते नै परमादेश जारी गरेको भए पनि अहिलेसम्म फैसलाको पूर्ण पाठ आइसकेको छैन । यता राष्ट्र बैंकले पनि हिमालयनलाई लाभांश वितरण गर्नु भनेर अहिलेसम्म पत्र पठाएको छैन ।

 

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

 

मर्जर प्रक्रिया भंग गरेपछि हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई राष्ट्र बैंकको कारबाही गरेको छ । सैद्धान्तिक सहमति पाएपछि उचित कारणबिनै मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गरेको हो ।

 

राष्ट्र बैंकले ऐनमा व्यवस्था भएअनुसार मर्जर भाँड्ने हिमालयन बैंकका प्रमोटर सेयरधनीको सेयर कारोबार रोक्का, लाभांश वितरणमा रोक, नयाँ शाखा विस्तार गर्न नपाउने लगायत कारबाही गरेको छ ।

 

साथै, दुवै बैंकलाई यथाशिघ्र अर्को बैंकसँग मर्जर वा एक्वीजिसन जान निर्देशन दिएको छ ।दुई बैंकले २०७८ वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका थिए । तर, पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकार गर्दै मर्जर भाँडेको थियो ।

 

 

कफी : निर्यातभन्दा दोब्बर आयात Read Previous

कफी : निर्यातभन्दा दोब्बर आयात

निर्माणाधीन फास्ट ट्रयाकमा लोडर दुर्घटना, ३ चिनियाँ नागरिकको मृत्यु, ३ गम्भीर घाइते Read Next

निर्माणाधीन फास्ट ट्रयाकमा लोडर दुर्घटना, ३ चिनियाँ नागरिकको मृत्यु, ३ गम्भीर घाइते