काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुहरू मध्ये एक उत्पादन हो कफी । निर्यात हुने वस्तु भए पनि चालु आवमा निर्यातको तुलनामा दोब्बर आयात भएको छ ।
चालु आर्थिक वर्षको चैत महिनासम्ममा कुल १० करोड २९ लाख ७८ हजार रुपैयाँ बराबरको कफी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त रकम बराबरको २ लाख १६ हजार ४२० केजी कफी आयात भएको हो । उक्त आयातका क्रममा सरकारले ४ करोड ७६ लाख २० हजार रुपैयाँ राजस्व सरकारले उठाएको छ ।
यस्तै, सोही अवधिमा ५ करोड ५२ लाख ३ हजार रुपैयाँको कफी निर्यात भएको छ । सो रकममा ३४ हजार ४७९ केजी कफी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालमा भारत, हङकङ, इटाली, कतार, मलेसिया, यूएई, फिलिपिन, थाइल्याण्ड, कतार, चीन, कोरिया, डेनमार्क, हंगेरी, जापान, ओमन, नेदरलयाण्ड, आयरल्याण्ड, सिंगापुर लगायत देशबाट कफी आयात हुने गरेको छ । सोमध्ये सबैभन्दा बढी भारतहुँदै कफी आयात हुने गरेको छ । त्यसपछि कतार, कोरिया, मलेसियाबाट कफी आयात हुने गरेको पाइन्छ ।
गत आर्थिक वर्षमा कुल १० करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको कफी आयात भएको थियो । उक्त अवधिमा १ लाख ९६ हजार ६६६ केजी कफी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त कफी आयातका क्रममा सरकारले ५ करोड ३६ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा कुल ११ करोड ८८ लाख ४९ हजार रुपैयाँ बराबरको कफी आयात भएको थियो । उक्त रकममा २ लाख ६६ हजार १७१ केजी कफी आयात भएको थियो । सो कफी आयातका क्रममा ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
कफी निर्यात अवस्था
चालु आर्थिक वर्षमा ५ करोड ५२ लाख ३ हजार रुपैयाँको कफी निर्यात भएको छ । सो रकममा ३४ हजार ४७९ केजी कफी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा कुल ९ करोड ६० लाख ३ हजार रुपैयाँको कफी निर्यात भएको थियो । उक्त रकममा ७२ हजार १२९ केजी कफी निर्यात भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको थियो । उक्त रकममा ४६ हजार ८९२ केजी कफी निर्यात भएको थियो ।
नेपाली कफी जापान, दक्षिण कोरिया, जर्मनी, स्वीट्जरल्याण्ड, नर्वे, अमेरीका, क्यानडालगायत एक दर्जनभन्दा बढी देशमा माग रहेको छ ।नेपालमा वार्षिक ५३० मेट्रिकटन कफीका दाना उत्पादन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर २ हजार ७६१ हेक्टरमा ३३ हजार ९८४ कृषकले कफी खेती गरेको बोर्डको तथ्यांकले देखाएको छ ।
वार्षिक ५३० मेट्रिकटन उत्पादन
बोर्डका निर्देशक तथा प्रवक्ता दीपक खनाल वर्षेनी ५३० मेट्रिकटन हारहारीमा ग्रीन कफी बीन उत्पादन हुने गरेको बताउँछन् । चालु आर्थिक वर्षको उत्पादन विवरण भने आउन बाँकी छ ।
उनले वार्षिक ८४ मेट्रिकटन हाराहारीमा निर्यात हुने गरेको बताए । उनले नेपाली कफी प्रतिकिलो ८ देखि १५ डलरमा निर्यात हुने गरेको बताए । ‘कफी निर्यातालाई जोड दिए पनि सोचेजस्तो हुन सकेको छैन, गत वर्ष कोभिडको कारणले निर्यात राम्रो हुन सकेन, यो वर्ष राम्रै निर्यात देखिएको छ,’ खनालले भने ‘प्रतिकेजी १५ डलरसम्ममा निर्यात भइरहेको छ ।’
उनले नेपालका सबै भूभागमा अराबिका जातको कफी हुन्छ । समुन्द्री सतहबाट ८०० देखि १५०० मिटरसम्मको उचाइमा फल्ने भएकाले नेपाली कफी विदेशीहरूले धेरै रुचाउने गरेको उनको भनाइ छ ।
नेपाली कफीको बजार राम्रो भए पनि व्यवसायिक खेती प्रणाली विकास हुन नसकेको अनाल बताउँछन् । किसानहरूले जिल्ला सहकारीसँग समन्वयन गरेर थोरै जग्गामा कफी खेती गर्ने गरेका छन् । व्यक्तिगत रूपमा लागिपरेका किसानहरूमा कफीमा लाग्ने, रोग किरा र प्राविधिक ज्ञानको अभावका कारण व्यवसायिक खेती हुन सकेको छैन ।