काठमाडौं। हवाई इन्धनमा नयाँ विकल्पको सफल परीक्षण भएको छ । जहाजमा प्रयोग हुने पेट्रोलियम हवाई इन्धनको सट्टामा खाना पकाउने तेल प्रयोग गरेर जहाज सफलतापूर्वक उडाइएको हो ।
युरोपेली हवाइजहाज निर्माता कम्पनी एयरबसले खाने तेल हालेर ५४५ (८५३ सम्म) सिट क्षमताको ‘ए ३८०’ सिरीज को जहाज सफलतापूर्वक उडाएको छ ।
पछिल्ला केही वर्षयता जहाजमा पेट्रोलियम हवाई इन्धनको विकल्प बारे अध्ययन र प्रयोग गर्दै आएको एयरबसले आफ्नो सबैभन्दा ठूलो प्यासेन्जर एयरक्राफ्ट ‘ए ३८०’ जहाजमा नयाँ प्रयोगको सफल परीक्षण गरेको हो ।
एयरबसले उक्त जहाजमा सस्टेनेबल एभिएशन फ्युलु (एसएएफ) नामक इन्धन प्रयोग गरेर ३ घन्टासम्म उडाएको हो। एयरबसले एसएएफ हालेर उडाइएको ‘ए ३८०’ अहिले संचालनमा रहेको सबैभन्दा ठूलो वाइडबडी जहाज समेत हो।
७० मिटर लम्बाइको यो जहाज ८० मिटर विङ्सस्पान रहेको छ। संसारकै सबैभन्दा ठूलो यो प्यासेन्जर एयरक्राफ्ट अहिले विश्वका १४ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुसँग कुल २४९ वटा रहेका छन् ।
एयरबसको यो परीक्षण सफल भएसँगै विश्व हवाई उद्योगमा पेट्रोलियम हवाई इन्धनको प्रयोगबाट उत्पन्न हुने कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न सहयोग पुग्ने आशा देखाएको छ ।