काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले निगमलाई वैशाख १८ गते पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्य के कति घटबढ गरेर पठाइएको छ भन्नेबारे भने निगमले उल्लेख गरेको छैन।
वैशाख १८ गतेको नयाँ मूल्य अनुसार पेट्रोल खरिद लागत १८३.०२ रुपैयाँ र डिजेलको १८३.१३ रुपैयाँ छ । सो अनुसार पेट्रोलमा प्रतिलिटर २३.०२ रूपैयाँ र डिजेलमा ४०.१३ रूपैयाँ घाटा हुने निगमले जनाएको छ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको खरिद लागत २६५०.१८ रुपैयाँ छ। हाल १ हजार ६०० रुपैयाँ विक्री भइरहेको ग्यासमा प्रतिसिलिण्डर १ हजार ५०.१८ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको २.८१ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १२.६४ रुपैयाँ र बाह्यतर्फ ६४.६९ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ।
निगमका अनुसार मट्टीतेलको खरिद लागत १४०.१९ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फको १४३.३६ रुपैयाँ र बाह्यतर्फको १२३.७८ रुपैयाँ रहेको छ।
पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ५ अर्ब १९ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ ।