हेटौंडामा बर्डफ्लू भेटियो, साढे ३ हजार कुखुरा नष्ट

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको ३ हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।

 

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

 

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले राससलाई जानकारी दिए ।

 

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

 

पशुपक्षी तथा मत्स्य निर्देशनालय हेटौँडाका निर्देशक गोपालप्रसाद शाहले बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार बर्डफ्लू भएको स्थानमा नियन्त्रण तथा नियमन गरिने र कानूनी प्रवधानअनुसार किसानलाई राहत उपलब्ध गराउने बताए ।

चुक्ता पूँजी नपुर्‍याउने कम्पनीलाई फोर्सफुल मर्जर गराउने पक्षमा बीमा समिति Read Previous

चुक्ता पूँजी नपुर्‍याउने कम्पनीलाई फोर्सफुल मर्जर गराउने पक्षमा बीमा समिति

नेपालीले ९ महिनामा ताने ८ करोडको विदेशी हुक्का Read Next

नेपालीले ९ महिनामा ताने ८ करोडको विदेशी हुक्का