काठमाडौं । बीमा कम्पनीको पूँजी वृद्धिका लागि नियामक निकाय बीमा समिति फोर्सफुल मर्जरको पक्षमा देखिएको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरूले पूँजीवृद्धिको समय थप गर्नमाग गरिरहेको बेला समिति भने मर्जरका लागि दबाब दिइरहेको हो ।
पूँजी वृद्धिको योजना पेस गरेका बीमा कम्पनीहरूले हकप्रद,बोनस सेयर, आइपीओ निष्कासन र मर्जरको बाटो रोज्न सकिने बताएका थिए । समितिले उक्त निर्णय गरेसँगै पूँजी वृद्धिको दबाबमा परेका कतिपय कम्पनीहरू अस्तित्वको समेत जोखीममा छन् ।
बीमा कम्पनीहरूले आफ्नो संञ्चालक समिति मार्फत बुझाएको क्यापिटल प्लानको छलफलका लागि समितिले बिहीबार बीमा कम्पनीहरूलाई छलफलका लागि बोलाएको थियो । कम्पनीहरूले पूँजी वृद्धिको म्याद थपका लागि समय माग गरेपनि त्यसमा तत्काल पुनर्विचार गर्न नसकिने समितिका अधिकारीहरूले बताउँदै आएका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरमार्फत पूँजी वृद्धि गर्ने पक्षमा समिति रहेको बताए । ‘समितिले बीमा कम्पनीसँग गरेको छलफलमा कम्पनीहरूलाई मर्जरमा जानुपर्छ भनेर सचेत गराएका छौँ,’ उनले चाणक्य पोष्टसँग भने, ‘पूँजी वृद्धिको समय थप गर्ने वा नगर्ने विषमा केही भएको छैन् । अहिले यो छलफलकै क्रममा छ, समितिको बैठक बसेको छैन् । हामी मर्जरकै पक्षमा छौँ ।’
हाल नेपालमा जीवन र निर्जीवन गरी ३९ कम्पनी कम्पनी संञ्चालनमा रहेका छन् । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बाहेक ३८ वटा बीमा कम्पनीहरू ले चुक्ता पूँजी बढाउनु पर्ने छ । केही समय अघि मात्रै संञ्चालनमा आएका महालक्ष्मी लाईफ इन्स्योरेन्स लगायत बीमा कम्पनीहरूले सर्वसाधारणका लागि आइपीओ समेत जारी गरेका छैनन् ।
हाल आधा दर्जन बीमा कम्पनीहरू मर्जमा जान तयार रहेको बताइएको छ भने केहीले बोनस सेयर दिएर पूँजी बढाउने तयारीमा छन् ।हालसम्म समितिले कम्पनीहरूलाई पूँजी वृद्धिका अन्य आधारहरू भने दिएको छैन् । हकप्रद जारी गर्न दिएर पूँजी वृद्धि गरे त्यो घातक हुने अर्थविज्ञहरूले बताइरहेका छन् ।
समितिले गत चैत १० मा जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी साढे दुई गुणाले बढाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बीमा कम्पनीहरू ले २०८९ चैत मसान्त भित्र तोकिएको पूँजी पुर्याउनु पर्नेछ ।
सोही निर्णय अनुसार बीमा कम्पनीहरूले १ महिना भित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गरेर पेस गर्न निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २.५ अर्ब पूँजी तोकेको छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको थियो ।
कोरोना महामारीले अर्थतन्त्र सिथिल भएको अवस्थामा विगत करिब २ वर्षदेखि कम्पनीहरूले आक्रमक रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । समितिले बीमाको दायरा विस्तार गर्न, संस्थागत सुशासन र संख्या घटाउन मर्जर गरेर पूँजी बढाउने नीति लिएको छ ।
एकातिर तोकिएको पूँजी पुर्याउन मुस्किल पर्ने र अर्कोतर्फ सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने भएकाले त्यो आर्जन गर्न नसकिने जोखिम रहेको बीमा कम्पनीका संञ्चालकहरू बताइरहेका छन् । कम्पनीहरू लाई व्यवसायको आकार हेरेर जोखिममा आधारित पूँजी तोक्नुपर्ने बीमा विज्ञहरूको सुझाव छ ।