काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको परिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४९.९८ प्रतिशतले घटेको हो ।
लघुवित्तले चैत मसान्तसम्म ५ करोड ६९ लाख ३ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा आधा कम हो । लघुवित्तले गत आवको चैतसम्म ११ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै लघुवित्तको खुद नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, सञ्चालन नाफा ५१.२० प्रतिशतले घटेर ८ करोड ६७ लाख ७८ हजार रुपैयाँमा आएको छ । लघुवित्तले यस वर्ष ६ करोड ६९ लाख ९३ हजार रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ ।
हाल ४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३३ करोड ७९ लाख रुपैयाँ संचित छ । चैतसम्म लघुवित्तले १ अर्ब ७१ करोड निक्षेप र २ अर्ब १२ करोड सापटी लिई ४ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २१.८५ रुपैयाँले घटेर १५.६२ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६९.५७ रुपैयाँ, खराब कर्जा ४.९२ प्रतिशत छ ।