तीनकुने आर्कब्रिजको डिजाइन सुरू, नयाँ आर्थिक वर्षदेखि निर्माण थालिने

काठमाडौंको बिजुलीबजारस्थि धोवीखोलामा निर्मित आर्क ब्रिज ।

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित आर्क ब्रिजको डिजाइन सुरू भएको छ । पुल निर्माणको ठेक्का पाएको वाइपी किँरातेश्वर जेभीले पुलको डिजाइन सुरू गरेको हो ।

 

यो पुल ‘डिजाइन एण्ड बिल्ड’ (निर्माण कम्पनी आफैँले डिजाइन र निर्माण गर्ने) मोडलमा बन्ने गरी ठेक्का लागाइएको थियो । सोही अनुसार निर्माण कम्पनीले डिजाइनको काम सुरू गरेको हो ।

 

उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले निर्माण कम्पनीले पुलको डिजाइनको काम सुरू गरेको जानकारी दिएको बताए । उक्त कम्पनीले चालु आव भित्र पुलको डिजाइन सक्ने गरी काम गरिरहेको उनले बताए ।

 

असार मसान्तसम्म पुलको डिजाइन सकनिे उनले बताए । उनले चालु आवमा निर्माणको काम सुरू नभए पनि डिजाइन सक्ने बताए । उनका अनुसार आर्क ब्रिजको निर्माण आगामी आवबाट मात्र सुरू हुनेछ ।

 

‘यो वर्ष निर्माणको काम हुने सम्भावना अलि कम छ, डिजाइन मात्र हुन्छ होला, निर्माणको काम अर्को आवबाट सुरू हुन्छ,’ जोशीले चाणक्य पोष्टसँग भने ।

 

विगत ७ वर्षदेखि अलपत्र उक्त पुल निर्माणको ठेक्का गत चैत दोस्रो साता वाइपीले पाएको थियो । ठेक्का सम्झौता अनुसार कम्पनीले साढे २ वर्षभित्र निर्माण पूरा गर्नुपर्नेछ ।

 

वाइपीले अनुमानित लागतभन्दा ३५ प्रतिशत कम रकम कबोल्दै २४ करोड रुपैयाँमा उक्त ठेक्का हात पारेको थियो । आयोजनाले उक्त पुलको अनुमानित लागत ३६ करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

 

ठेक्का मूल्यांकनका चरणमा रहेको बेला वाइपी किँरातेश्वर जेभीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजस्व छलीको मुद्दा परेको खुलेपछि मूल्यांकन प्रकृया नै ढिला हुन गएको थियो ।

 

निर्माण व्यवसायीको लापरबाहीले ७ वर्षदेखि अलपत्र

 

निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ७ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको हो ।

 

पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।

 

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

 

आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरू गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो । २१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।

 

नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था Read Previous

नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था

मोटरसाइकल, मोबाइल लगायत १० वस्तु आयातमा पूर्ण प्रतिबन्ध (सूचीसहित) Read Next

मोटरसाइकल, मोबाइल लगायत १० वस्तु आयातमा पूर्ण प्रतिबन्ध (सूचीसहित)