काठमाडौं । सरकारले मोबाइल, मोटरसाइकल सहित विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउन पूर्ण प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा संचितिमा दबाब पर्दै गएपछि सरकारले आगामी असार मसान्तसम्ममा लागि १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विलासी उपभोग्य सामानको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानहरुमा मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), सबै प्रकारका खेलौनाहरु रहेका छन् ।
त्यसैगरी, कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (कच्चा पदार्थ ल्याउन छुट छ), खेल्ने तास ल्याउन पूर्ण प्र्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ ।यस्तै, वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू नहुने राजपत्रमा उल्लेख छ ।