२१ बीमा कम्पनीले बुझाए पूँजी वृद्धिको योजना

काठमाडौं । बीमा समितिमा २१ वटा बीमा कम्पनीहरूले पूँजी वृद्धिको योजना पेस गरेका छन् । संञ्चालनमा रहेका ३९ जीवन र निर्जीवन कम्पनीमध्ये आइतबार (१ बजेसम्म) आधा कम्पनीले मात्रै योजना पेस गरेका हुन् ।

 

बाँकी १७ वटा बीमा कम्पनीहरूलाई आजसम्म योजना पेस गर्न समितिले भनेको छ । समितिका अनुसार १० वटा जीवन र ११ वटा निर्जीवन बीमा कम्पनीहरूले पूँजी वृद्धिको योजना पेस गरेका हुन् ।

 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पैडेलले अहिलेसम्म २१ वटा कम्पनीहरूले पूँजी वृद्धिको योजना बुझाएको र बाँकी कम्पनीहरूका लागि आजसम्म समय दिइएको बताए ।

 

‘तोकिएको अवधिमा पूँजी वृद्धिको योजना नबुझाउने बीमा कम्पनीहरूलाई समितिले नियमावली अनुसार कारबाही गर्छ,’ उनले भने, ‘अहिले २१ कम्पनीले मात्रै यस्तो योजना पेस गरेका छन । आजसम्मको समय छ । उनीहरूले दिएका योजनाहरूमा भोलिदेखि छलफल गर्छौं ।’

 

समितिका अनुसार जीवन बीमातर्फ सूर्य लाइफ, नेशनल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ, मेट लाइफ, एलआइसी नेपाल, सानिमा लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ र रिलायन्स लाइफले पूँजी वृद्धि योजना पेश गरेका छन् ।

 

त्यसैगरी, निर्जीवनतर्फ सानिमा जनरल, आइएमई जनरल, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल इन्स्योरेन्स, सगरमाथा जनरल र अजोडले पूँजी वृद्धि योजना पेस गरेका छन् ।

 

समितिका अनुसार कम्पनीहरूले हकप्रद जारी गर्ने, बोनस सेयर दिने, मर्जर तथा आइपीओ निष्कासन गर्ने योजना पेस गरेका छन । गत चैत १० मा समितिले जीवन र निर्जिवन बीमा कम्पनीहरूको पूँजी साढे दुई गुणाले बढाउने समितिले निर्णय गरेको थियो ।

 

सोही निर्णय अनुसार बीमा कम्पनीहरूले १ महिना भित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गरेर पेस गर्न निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूजी २.५ अर्ब पूँजी तोकेको छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको थियो ।

 

समितिको उक्त निर्देशनसँगै अधिकांश बीमा कम्पनीहरू पूँजी वृद्धिको दबाबमा परेका छन् । जस अनुसार नेपाल लाईफ इन्स्योरेन्स बाहेकका जीवन र निर्जीवन बीमा कम्पनीहरू मर्जमा जाने वा अन्य विकल्प अपनाएर पूँजी बढाउने भन्ने द्धिविधामा छन् ।बीमा कम्पनीहरूले २०७९ को चैत मसान्त भित्र तोकिएको पूँजी कायम गरिसक्नुपर्ने छ ।

 

बीमा कम्पनीको संख्या घटाएर संस्थागत सुशासन र वित्तीय आधार बलियो बनाउनुका साथै बीमाको पहुँच बढाउन मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिएर पूँजी वृद्धि गरिने समितिको दाबी छ ।

 

समितिले आफैले भने पूँजी वृद्धिको मोडालिटि बनाएको छैन् । बीमा कम्पनीको पूँजी वृद्धि सबैलार्य एउटे नभएर जोखीममा आधारीत व्यवसायको आधारमा हुनुपर्ने विज्ञहरू बताउँछन् ।

 

नेप्सेमा उच्च अंकको उछाल, यी २५ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको उछाल, यी २५ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट

कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक, गर्ने काम मात्रै प्राथमिकतामा (पूर्णपाठ) Read Next

कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक, गर्ने काम मात्रै प्राथमिकतामा (पूर्णपाठ)