नेप्सेमा उच्च अंकको उछाल, यी २५ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको हो । पछिल्लो दुई महिनायता लगातार घटिरहेको नेप्सेमा आज उछाल आएको हो ।

 

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सुरू भएसँगै देश चुनावी माहोलमा होमिएको छ । यसले लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको आकलन गरिएको छ । चुनावको बेला सेयर बजारले पनि छलाङ मार्ने लगानीकर्ताहरुको मनोविज्ञान छ ।

 

साथै, लामो समयदेखि बजार घटिरहेकाले करेक्शन सकिएर नेप्सेले फेरि लय समात्न थालेकाले पनि बजारमा बढोत्तरी आएको लगानीकर्ताहरु बताउँछन् ।

 

सूचकसँगै आज कारोबार रकमा पनि बढोत्तरी आएको छ । गत साता औसतमा दैनिक डेढ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज साढे २ अर्ब नाघेको छ ।

 

साताको पहिलो कारोबार दिन नेप्से ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा पुगेको छ । यसदिन २३८ कम्पनीको २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ बराबरको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ८.६  प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर समूह सबैभन्दा धेरै ७.३२ र विकास बैंक समूह साढे ६ प्रतिशतले बढेको छ ।

 

आज करोबारमा आएको २३८ कम्पनीमध्ये २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ४ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज सानिमा बैंक प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट पौने १२ करोड र अरुण भ्याली हाइड्रोपावर ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले बढेको बजारमा दुई दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट, जानकी फाइनान्स, मञ्जुश्री फाइनान्स, अरुण भ्याली, खानीखोला, घलेम्दी, युनिभर्सल पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, जाल्पा लघुवित्त, ग्रीन भेन्चर्स, पोखरा फाइनान्स, आँखुखोला, न्यादी, बरुण, सिंगटी, युनाइटेड मोदी, पञ्चकन्या माइ, दिव्यश्वरी, अपि पावर, अरुण काबेली हाइड्रोपावर, गुडविल फाइनान्स, गुराँस लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

घरजग्गा कारोबारको 'हटस्पट' बन्दै ठूला सहर, यी हुन् धेरै किनबेच भएका १० ठाउँ Read Previous

घरजग्गा कारोबारको 'हटस्पट' बन्दै ठूला सहर, यी हुन् धेरै किनबेच भएका १० ठाउँ

२१ बीमा कम्पनीले बुझाए पूँजी वृद्धिको योजना Read Next

२१ बीमा कम्पनीले बुझाए पूँजी वृद्धिको योजना