काठमाडौं । संघीय राजधानी काठमाडौँ उपत्यका र तराईका जिल्लाहरू घरजग्गा किनबेचका केन्द्र बनेका छन । मानिसहरू रोजगारी तथा विभिन्न सेवा सुविधाको खोजीमा सहरी क्षेत्रतर्फ बसाँइसराइ गर्ने क्रम बढेसँगै यी ठाउँहरूमा घरजग्गा किनबेचको हटस्पट बनेका हुन् ।
काठमाडौं उपत्यकासहित देशका ठूला सहरहरू विराटनगर, दमक, इटहरी, सुनसरी, नेपालगञ्ज, भरतपुर, बर्दिबास लगायतका ठाउँमा किनबेच तीव्र बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।
अनुत्पादक क्षेत्र भएपनि कर्जा लगानीको जोखीम कम र छोटो समयमा धेरै प्रतिफल हासिल गर्ने होडमा बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गामा लगानी गर्ने गरेका छन् । जसको कारण मूल्य वृद्धि र किनबेचमा प्रोत्साहन पुगेको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।
निरन्तरको मूल्य वृद्धि तथा यस्ता क्षेत्रमा गरिएको लगानीेको आयस्रोत खोजिदैन भन्ने मानिसको सोचाइका कारण किनबेच बढ्दै गएको छ । साथै, पछिल्लो समय हुन्डी, क्रिप्टोकरेन्सी लगायतबाट आएको पैसा समेत घरजग्गामा लगानी हुन थालेको बताइन्छ । यसले समेत कारोबार बढाउन सहयोग पुगेको जानकार बताउँछन् ।
राष्ट्र बैंकले घरजग्गामा कर्जा लगानी गर्न बैंकहरूलाई कडाइ गरे पनि किनबेच र लगानीको क्रम बढ्दो छ । प्रदेशहरूमा सहरीकरण, सस्तो पूर्वाधार विकास,औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधारको सुविधाले आकषर्ण बढेको व्यवसायीहरू बताउँछन् ।
विभागका अनुसार चालु आवको चैत मसान्तसम्म कुल ५ लाख ९८ हजार ७७९ घरजग्गा किनबेच भएको छ । जसमा सबैभन्दा धेरै काठमाडौं र तराईका जिल्लाहरूमा किनबेच भएको छ ।
यी हुन् सबैभन्दा धेरै घरजग्गा किनबेच भएका १० ठाउँ
चालु आवको ९ महिनामा सबैभन्दा घरजग्गा किनबेचको हटस्पट संघीय राजधानी काठमाडौँ बनेको छ । चैत मसान्तसम्म काठमाडौंको डिल्लीबजार, साँखु,चाबहील, टोखा, कलंकी र मनमैजुगरी कुल ४२ हजार २०४ घरजग्गा किनबेच भएको हो ।

उपत्यकापछि तराईको जिल्ला मोरङमा ४१ हजार ८४२ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त घरजग्गा किनबेच भएका हुन् ।
यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच झापामा भएको छ । ९ महिनाको अवधिमा यस जिल्लामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल ३२ हजार ४३३ किनबेच भएका छन ।यसैगरी, सुनसरीमा धरान र इनरुवा मालपोत कार्यालबाट २४ हजार ५९२ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।
यसैगरी, झापामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल ३२ हजार ३२९ ,चितवनको खैरहनी, माडी, चनौली गरेर २३ हजार ८१, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत २० हजार ८६४ घरजग्गा किनबेच भएको छ ।
बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १९ हजार ८२३,बाराको कलेया र सीमराबाट १६ हजार २४५, ललितपुरको गोटिखेल र लगनखेलबाट १८ हजार ७४५, र भक्तपुरमा १८ हजार ५९१ घरजग्गा किनबेच भएका छन् ।
कुन महिनामा कति घरजग्गा किनबेच ?
विभागका अनुसार चालु वर्षको ९ महिना ९चैतसम्म० कुल ५ लाख ९८ हजार ७७९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो भने फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।
त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ घरजग्गा खरिद विक्री भएको थियो ।