काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीको सङ्कल्प (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।
आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले सङ्कल्प गरेका हुन्।
महामन्त्री थापा नेतृत्वमा कांग्रेसले चुनावी घोषणा पत्र बनाएको हो। शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिएर घोषणा पत्र बनेको कांग्रेसका नेताहरूले बताएका छन्।
घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यास लगायतका विषयलाई समेटिएको छ ।
जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
कांग्रेसले ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको छ । कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। घोषणा पत्रमा समेट्ने विषयवस्तु कांग्रेसले विज्ञहरुसँग सुझाव लिएको थियो।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर आज उक्त सङ्कल्प सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयन आजदेखि नै सुरु गरेको छ । सत्तागठबन्धनको नेतृत्वकर्ता कांग्रेसललगायतका दलले एकापसमा मिलेर निर्वाचनमा जाने सहमति गरिसकेको छ ।