काठमाडौँ । तरलता अभावका कारण निक्षेपको लागत बढ्दा बैंकहरूको ब्याज आम्दानी घटेको छ । गत वर्षको चैतको तुलनामा चालु आवको चैतमा खुद नाफा ०.५४ प्रतिशतले बढाएका बैंकहरूको ब्याज आम्दानी भने २.१२ प्रतिशतले घटेको छ ।
गत वर्षको तेस्रो त्रैमास (माघ चैत)मा कुल १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेका बैंकहरुले चालु आवको सोही अवधिमा १ खर्ब १७ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५४ करोड रुपैयाँ कमी हो ।
तरलता अभावका कारण निक्षेपमा धेरै ब्याज दिनुपर्ने भएपछि बैंकहरूको ब्याज खर्च बढेको छ । गत वर्ष चैतमा बैंकहरूले निक्षेप करिब ७ प्रतिशत हाराहारीमा ब्याज दिएको यस वर्ष बढेर झन्डै १२ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदर झन्डै दोब्बरले बढ्दा बैंकहरूको ब्याज खर्च ह्वात्तै बढेको हो ।
गत वर्ष तेस्रो त्रैमासमा १ खर्ब १९ अर्ब ब्याज आम्दानी गर्दा बैंकहरूले निक्षेपका लागि ४६ अर्ब ५२ करोड रुपैयाँ ब्याज दिएका थिए भने यस वर्ष १ खर्ब १७ अर्ब ब्याज आम्दानी गर्दा ब्याज खर्च बढेर ७६ अर्ब पुगेको छ ।
सरल भाषामा भन्नु पर्दा गत वर्ष बैंकहरुले १ रुपैयाँ ब्याज आम्दानी गर्दा ३९ पैसा ब्याज खर्च गरेका थिए भने यस वर्ष लागत बढेर १ रुपैयाँ ब्याज आम्दानी गर्दा ६५ पैसा खर्च गर्नुपरेको छ । गत वर्षको तुलनामा बैंकहरूको ब्याज खर्च ६८ प्रतिशतले बढेको छ ।
गत वर्षको तुलनामा चालु वर्षको तेस्रो त्रैमासमा मात्रै बैंकहरूको ब्याज खर्च ३० अर्ब बढेको छ । यद्यपि, सोही अवधिमा बैंकहरूले थप २ खर्ब ५७ अर्ब निक्षेप थपेका छन् ।
निक्षेपको ब्याज खर्च बढ्दा बैंकहरूको खुद ब्याज आम्दानी ठूलो गिरावट आएको छ । गत वर्षको तेस्रो त्रैमासमा कुल ७३ अर्ब खुद ब्याज आम्दानी गरेका बैंकहरूले चालु वर्षमा जम्मा ४० अर्बमा सीमित भएका छन् ।
समीक्षा अवधिमा बैंकहरूको निक्षेप संकलन ५.५७ प्रतिशत र कर्जा लगानी १२ प्रतिशत बढेको छ । वाणिज्य बैंकहरूले चालु आवको चैत मसान्तसम्ममा कुल ४३ खर्ब १३ अर्ब निक्षेप संकलन गरी कुल ३९ खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका छन् ।गत वर्षको चैतसम्म बैंकहरूले ४० खर्ब ८६ अर्ब निक्षेप संकलन गरी अर्ब ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । बैंकहरूले चालु आवको ९ महिनामा मात्रै २ खर्ब ५७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ७० अर्ब कर्जा लगानी गरेका छन् ।
कुनले बैंकले कति गरे ब्याज आम्दानी र खर्च ?
सबैभन्दा धेरै कुल ब्याज आम्दानी गर्नेमा एनआइसी एशिया पहिलो बैंक बनेको छ । जसले यस अवधिमा ८ अर्ब ५२ करोड रुपैयाँ कुल ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा २ अर्ब रुपैयाँले यस बैंकको ब्याज आम्दानी बढेको छ ।

यसका साथै खुद ब्याज आम्दानी पनि यस बैंकले गत वर्षको तुलनामा १ अर्ब रुपैयाँले बढाएको छ । समीक्षा अवधिमा बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
दोस्रोमा ग्लोबल आइएमई बैंकले ७ अर्ब ६० करोड रुपैयाँ कुल ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा २ अर्ब ५१ करोड रुपैयाँ ब्याज आम्दानी बढाएको छ । यस बैंकले गत वर्षको समीक्षा अवधिमा ५ अर्ब रुपैयाँ कुल ब्याज आम्दानी गरेको थियो ।
यसैगरी, ब्याज खर्च २ अर्ब रुपैयाँले बढेको छ । गत वर्ष २ अर्ब ९९ करोड रुपैयाँ ब्याज खर्च गरेकोमा यस वर्ष ४ अर्ब ९६ करोड रुपैयाँ ब्याज खर्च भएको छ । यस बैंकले खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड गरेको छ अघिल्ले वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब पुगेको थियो ।
सबैभन्दा कम ब्याज आम्दानी स्ट्याण्डर्ड चार्टर्ड बैंकले गरेको छ । यस बैंकको कुल ब्याज आम्दानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ६० करोडले बढी हो । यस बैंकले ब्याज खर्च १ अर्ब रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६१ करोड रुपैयाँ गरेको थियो ।
खुद ब्याज आम्दानी १३ करोड रुपैयाँले बढेको छ । अघिल्ले वर्षको तेस्रो त्रैमासमा ६८ करोड खुद ब्याज आम्दानी गरेको यस बैंकले यस वर्ष ८१ करोड रुपैयाँ कमाएको छ ।