चालु वर्षमा मात्रै २६ अर्बको तरकारी आयात, आयात रोक्न कति सम्भव ?

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य अस्वभाविक रुपले बढेको छ । अधिकांश तरकारीको भाउ किलोकै डेढ सय हाराहारीमा छ । अफसिजन भएकाले माग अनुसार तरकारी उत्पादन हुन सकेकेको भन्दै भाउ बढेको हो ।

 

नेपाली उत्पादन केही कमी भए पनि अहिले भारतबाट नियमित रुपमा तरकारी आयात भइरहेको छ । यद्यपि, बजारीकरणको अभावर बिचौलियाहरुको चलखेलका कारण अहिले नेपाली कृषकले लगाएको तरकारी खेतमै कुहिरहेको छ ।

 

भारतीय तरकारीको दबदबा रहँदा राजधानी काठमाडौं नजिकैका जिल्लाहरु काभे्र, धादिङ लगायत जिल्लाको कृषको तरकारले उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले महँगोमा किन्नु परेको छ ।

 

निरीह राज्य र बलिया बिचौलियाका कारण कृषक र उपभोक्ता दुवै मारमा परिरहेका छन् । अहिले कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यको अन्तर चार पाँच गुणासम्म फरक रहेको छ ।

 

नेपालमै पर्याप्त तरकारी उत्पादन गर्न सक्ने सम्भावना रहे पनि आधुनिक खेती प्रणाली नअपनाउँदा, उन्नत जातको बीउ र र मलको व्यवस्था नहुँदा, राज्यले कृषकहरुलाई प्रोत्साहन गर्न नसक्दा व्यवसायिक रुपमा उत्पादन हुन सकेको छैन ।

 

नेपालमा उत्पादित तरकारी संकलन गरी बेच्दा भन्दा भारतीय तरकारी बेच्दा बढी फाइदा हुने भएपछि व्यापारीहरु भारतीय तरकारीमै आकर्षित हुने गरेका छन् । नेपालमै उत्पादन बढाइ भारतीय तरकारी आयात कम गर्न सके वर्षेनी अर्बौं रुपैयाँ विदेशिन रोकिने देखिन्छ ।

 

चालु आर्थिक वर्षको चैतसम्ममा मात्रै २६ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको छ । ६२ करोड ४५ लाख ९९ हजार केजी तरकारी आएको छ ।

 

यस्तै, गत आर्थिक वर्षमा मात्र ३८ अर्ब ५० करोड रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । ८६ करोड ६५ लाख केजी तरकारी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

‘आयात रोकी नेपालमै उत्पादन बढाउनु पर्छ’

 

वर्षौं अर्बौंको तरकारी आयात हुन थालेपछि व्यापार घाटा बढाउन समेत भूमिका खेलेको छ । तरकारी आयातमा रोक लगाई स्वदेशमै उत्पादन बढाउन लाग्नुपर्ने सरोकारवाला बताउँछन् ।

 

आयातीत तरकारीले नेपाली बजार ओग्टदा स्थानीय तथा आन्तरिक उत्पादनले बजार नपाउने गरेको पाइन्छ । अर्थमन्त्री जनार्दन शर्माले तरकारी आयातमा रोक लगाउन सके वर्षेनी बाहिरिने अर्बौ रकम बच्ने बताउँछन् । उनले नेपालमै उत्पादित तरकारी बजारसम्म पुग्न नसकेको अवस्था भारतबाट आयात हुने तरकारीसँग प्रतिस्पर्धा गर्नु परेको बताए ।

 

‘नेपालको अर्थतन्त्र संकटमा छैन, यसलाई केही राम्रो गर्न तरकारी आयातलाई समेत रोक्नु पर्छ अनि मात्र हाम्रो उत्पादनले बजार भाउ पाउँछ,’ मन्त्री शर्माले भने ।कृषकलाई तरकारी खेतीमा प्रोत्साहन गर्न राज्यले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

 

‘सबै तरकारी आयात रोक्नु आत्मघाति हुन्छ’

 

यता, कृषक समूह महासंघका पूर्वाअध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारी तत्काल सबै तरकारी आयात रोक्नु आत्मघाति हुने बताउँछन् ।

 

उनले तत्काल सबै तरकारीको आयात रोक्दा उपभोक्तामा समेत मार पर्ने भन्दै ६ महिना÷१ वर्षको अवधि राखेर तयारीपछि मात्र आयात रोक्नु पर्ने बताए । उनले कृषि उपज पर्याप्त नभएको भन्दै खाली रहेका जमिनहरुलाई कृषिमा प्रयोग गर्न सकिने गरी समय तोकेर आयातमा रोक लगाउनु पर्ने बताए ।’

 

‘तत्काल आयात रोकि हाल्नु सबैको लागि आत्मघाति हुन्छ, उपभोक्ता समेत मूल्यवृद्धिको मारमा पर्नेछन्,’ अधिकारीले भने ‘६ महिना १ वर्ष समय दिएर त्यसपछि आयात रोक्दा राम्रो हुन्छ, त्यो समयमा अपुग हुने तरकारीको व्यवस्थापनका लागि कृषकहरुले लगाउन सक्छन् ।’

 

उनका अनुसार गुन्द्रुक, खुर्सानी, धनिँया, प्याज, लसुन लगायतका तरकारीहरु आयात गर्न दिनुहुँदैन । उनले नेपालको बाजो जमिनलाई उपयोग गर्ने गरी लिजमा सरकार आफैंले जग्गा उपलब्ध गराएर कृषि जमिन सुरक्षित हुने छ ।

 

कालिमाटी बजारमा दैनिक ५ लाख ५१ हजार केजी बढी तरकारी आयात भइरहेको छ । कालिमाटी बजारमा भक्तपुर, बारा, चित्वन, धादिङ, दोलखा, काभ्रे ललितपुर, मकवानपुर, नवलपरासी, मोरङ, नुवाकोट, सर्लाही, सिन्धुली, रामेछाप लगायतका स्थानबाट तरकारी आयात हुने गरेको छ ।

 

भारत र चीनबाट समेत वर्षेनी टनकाटन तरकारी आयात हुने गरेको छ । भारतबाट मात्र कालिमाटी बजारमा ४१ प्रतिशत तरकारी आयात हुने गरेको छ । चीनबाट १.२९ प्रतिशत तरकारी आयात हुने गरेको छ ।

 

सर्वोच्चको आदेशसँगै काममा फर्किए गभर्नर अधिकारी Read Previous

सर्वोच्चको आदेशसँगै काममा फर्किए गभर्नर अधिकारी

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकले कमाए ५१ अर्ब नाफा, १२ बैंकको घट्यो Read Next

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकले कमाए ५१ अर्ब नाफा, १२ बैंकको घट्यो