काठमाडौं । काठमाडौं जिल्ला टेनिस सङ्घको आयोजनामा आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ । यही वैशाख ११ गतेदेखि हुने उक्त प्रतियोगितामा करिब २५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष/महिला एकल, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि एकल र डबल्स तथा ६५ वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ ।
सबै स्पर्धाका विजेतालाई पुरस्कार प्रदान गरिनेछ । कुल नगद पुरस्कार राशि ५ लाख १७ हजार रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ । साताव्यापी प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।