नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योगका लागि जग्गा अपुग

बाँके। नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ । नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आएपनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए।

 

उनका अनुसार नेपालगञ्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा छन् । २३३ रोपनी जग्गामा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सुचारु रहेका छन् । ‘उद्योग स्थापनाको लागि उद्योगी व्यवसायीबाट औद्योगिक क्षेत्रमा माग छ तर हामीसँग जग्गा छैन,’ कार्यालयका प्रमुख पुनले भने, ‘नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन नहुँदासम्म दिन सकिने अवस्था छैन ।’

 

नेपालगञ्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्र सुरक्षा र सुविधाका दृष्टिकोणले उपयुक्त रहेकाले नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीको आकर्षणमा पर्ने गरेको छ ।

 

नेपालगञ्ज औद्योगिक क्षेत्रमा पाइप निर्माण गर्ने, प्लाष्टिक उद्योग, प्लाई उद्योग, मेटल उद्योग र पानी उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । यहाँ रहेको विनोद मेटल उद्योग र विजय मेटल उद्योगबाट उत्पादन हुने चरेशका थालहरू तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको कार्यालयका प्रमुख पुनले बताए ।

 

नेपालगञ्जमा उद्योग स्थापना गर्ने जग्गा अभाव भएपछि पछिल्लो पटक नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिकाको वडा नं ६ स्थित गनापुरमा जग्गा किनेर धेरै उद्योग स्थापना भएका छन् । त्यहाँ करिब ८० उद्योग सञ्चालनमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । शिलान्यास भएको एकवर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन सकेको छैन ।

 

उनले नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना नहुँदासम्म उद्योग स्थापनाको लागि जग्गा अभाव देखिएको बताए । शिलान्यास भएको १३ महिना बित्दासमेत उक्त औद्योगिक क्षेत्रको काम सुरु हुन सकेको छैन । काम सुचारु गर्न आफूहरूले बारम्बार अनुरोध गर्दै आएको महासचिव ओलीको भनाइ छ ।रासस

दोर्दी खोला हाइड्रोपावरले वैशाख १३ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Previous

दोर्दी खोला हाइड्रोपावरले वैशाख १३ गतेदेखि आइपीओ निष्काशन गर्ने

सीवाइसी नेपाल लघुवित्तको प्रतिसेयर आम्दानी १६२ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था Read Next

सीवाइसी नेपाल लघुवित्तको प्रतिसेयर आम्दानी १६२ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था