काठमाडौं । कोरोना प्रभाव कम हुँदै गएसँगै नेपालमा पर्यटन व्यवसाय क्रमशः चलायमान हुन थालेको छ । पर्यटकीय गन्तव्यहरू मा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । पर्यटक बढेसँगै होटल, रेष्टुरेण्ट, ट्राभल लगायत पर्यटनसम्बन्धित व्यवसाय तंग्रिन थालेका छन् ।
पर्यटकीय चहलपहल बढेसँगै होटल तथा रेष्टुरेण्ट व्यवसायमा नयाँ लगानी थपिने क्रम पनि बढ्दो छ । पछिल्लो समय धमाधम स्वदेशी तथा विदेश लगानीका पर्यटकीय स्तरका होटल खुल्न थालेका छन् ।
एकपटक लगानी गरेपछि वर्षौंसम्म निरन्तर आम्दानी गर्न सकिने, कोरोना कम हुँदै गएसँगै विदेशी तथा आन्तरिक पर्यटकको संख्या बढ्न थालेकाले होटल व्यवसायमा लगानीकर्ताको आकर्षण देखिन्छ ।
होटल व्यवसायमा विदेशी लगानी आउने क्रम पनि बढ्दो छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी लगानीका मात्रै ६२ नयाँ होटल तथा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार ती उद्यागेहरू मा १० अर्ब ४६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानीमा बन्ने पर्यटन उद्योगले ३ हजार ७०८ जनालाई प्रत्यक्ष रोजगार पाउने विभागले जनाएको छ ।
चीनले साढे ९ अर्ब लगानी गर्दै
पछिल्लो समय नेपालको पर्यटन व्यवसायमा चिनियाँ लगानी बढ्दो क्रममा रहेको छ । चालु आवको चैत्र मसान्तसम्ममा विदेशी लगानी ६२ वटा होटल तथा रेष्टुरेन्ट दर्ता भएको छन् । तीमध्ये झन्डै ८३ प्रतिशत अर्थात् ५२ वटा चिनियाँ लगानीका रहेका छन् ।
चालु आवमा मात्रै चीनले नेपालमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा साढे ९ अर्ब लगानी प्रस्ताव गरेको छ । चैतसम्ममा चीनले नेपालमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।
चिनियाँ लगानीकर्ताले नेपालमा रेष्टुरेण्टदेखि तारे होटलसम्म लगानी गर्ने भएका हुन् । चिनियाँ व्यवसायीले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा होटल खोल्न लागेको हुन् ।
चिनियाँ लगानीमा खुल्ने अधिकांश होटल काठमाडौं उपत्यकाभित्रै रहेका छन् । दर्ता भएका ५२ वटा मध्ये ३७ वटा होटल तथा रेष्टुरेण्ट काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौंमा होटल खोल्न मात्रै चिनियाँहरू ले ७ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएका हु्न ।
यस्तै, भक्तपुरमा चिनियाँ लगानीका १० वटा होटल खुल्ने भएका छन् । भक्तपुर १ अर्ब ७५ करोड रुपैयाँ लगानीमा होटल खोल्न लागेका हुन् । त्यस्तै, चिनियाँले ललितपुर २० करोड लगानीको एउटा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने भएक छन् भने काभ्रेमा र कास्कीमा २/२ वटा होटलमा ३५ करोड लगानी गर्ने प्रस्ताव गरेका छन् ।
यस्तै, नेपालमा ३ वटा होटलसंचालन गर्न अमेरिकाबाट २० करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । अष्ट्रेलियाबाट मुगुमा एउटा होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
त्यसैगरी, फ्रान्सबाट काठमाडौंमा होटल संचालनका लागि ५ करोड, भारतबाट पर्सामा होटलका लागि २४ करोड, इटालीबाट कास्कीमा होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि ६ करोड, स्वीट्जरल्याण्डबाट काठमाडौंमा ५ करोड, बेलायतबाट कास्कीमा होटल संचालनका लागि ५ करोड लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
‘पर्यटक नबढाए जति होटल खोले पनि औचित्य छैन’
होटल एसोसिएसन नेपाल (हान)का महासचिव सजन शाक्यले पछिल्लो समय नेपालमा भएको होटल तथा रेष्टुरेण्ट हाल आएजति पर्यटकका लागि पर्याप्त भएको बताउँछन् । उनले नेपालमा २०१९ मा मात्र १२ लाख हाराहारी पर्यटक आएको भन्दै नेपालका होटलहरूसंग दैनिक २ करोड पर्यटक धान्न सक्ने क्षमता रहेको बताए ।
उनले नेपालमा वर्षको ५० लाख पर्यटक धान्न सक्ने क्षमताका होटल तथा रेष्टुरेण्ट भएपनि अझै ३२ लाख पर्यटन बस्ने कोठा खाली हुने गरेको बताए । उनले चीनले त्यसरी होटल तथा रेष्टुरेण्ट खोल्ने हो भने नेपालमा पर्यटकको संख्या बढाउनु पर्ने बताए ।
उनले भारतीय सहित नोपालमा वार्षिक १९ लाख हाराहारीमा पर्यटक भित्रिने गरेको भन्दै अब अन्य धार्मिक क्रियाकलापहरूमा समेत समावेश हुने गरी तेस्रो मुलुकहरूबाट समेत पर्यटक भित्राउन सके उक्त नयाँ होटल तथा रेष्टुरेण्ट आउनुको अर्थ हुने बताए ।
‘अहिले यहाँ भएका होटलका कोठा त्यतिकै खाली छन्, चीनले जति खोले पनि पर्यटक नआएपछि त्यसको कुनै अर्थ हुँदैन, पर्यटक आउने अवस्था सृजना गर्नु पर्छ अनि मात्र होटल/रेष्टुरेण्ट थप्नुको औचित्य हुन्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।
उनले पछिल्लो समय पर्यटकहरू ट्रेकिङका लागि मात्र आइरहेको बताए । उनले नयाँ पर्यटक ल्याउन धार्मिक पर्यटकलाई समेत नेपालमा घुम्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए । उनले बर्मा, थाइल्यान्डबाट वुद्ध धर्मवलम्बीहरूलाई समेत नेपालमा तान्न सक्नु पर्ने बताए ।