काठमाडौँ । कोरोना महामारीबाट तंग्रिँन लागेका होटल तथा रेष्टुरेन्टहरूले नेपाली नयाँ वर्षको अवसरमा विभिन्न प्याकेजका अफरहरू ल्याएका छन् । आर्थिक गतिविधि चलायमान र महामारीको प्रभाव नगन्य भएसँगै आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेजहरू ल्याएका हुन ।
सन् २०२० देखि आर्थिक गतिविधि सुस्त हुँदा होटेल तथा पर्यटन व्यवसाय ठप्पप्रायः बनेको थियो । यस वर्षको सुरूमै लकडाउन हुँदा व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रमा संकुचन आयो । तर, पछिल्लो समय दशैं तिहार यता भने आर्थिक गतिविधि र व्यवसाय निरन्तर अगाडि बढीरहेका छन् । महामारीमा धेरैले रोजगारी गुमाउने र व्यवसाय चौपट हुने अवस्था आए पनि यस्ता क्षेत्रहरू लयमा फर्किन थालेका छन् ।
नेपाल आउने विदेशी पर्यटकको संख्या पनि महिनैपिच्छे क्रमशः बढ्दै गएको छ । त्यस्तै, आन्तरिक पर्यटकहरूको संख्या पनि बढ्न थालेको छ । अहिले अधिकांश नेपालीले कोरोना विरुद्धको भ्याक्सिन लगाइसककाले पनि निर्धक्क घुमघाममा निस्कन थालेको देखिन्छ ।
पछिल्लो समय नेपालीहरूमा पनि घुम्ने संस्कृति मौलाउँदै गएको छ । विदाका दिन, मेला महोत्सवहरूमा घुम्नेको नेपालीको संख्या बढ्दै गएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा आन्तिरिक पर्यटकको संख्या बाक्लिँदै गएको देखिन्छ ।
नयाँ वर्ष २०७९ को आगमनले व्यवसायीदेखि पर्यटकहरूलाई समेत उत्साहीत बनाएको छ । दसैं, तिहार, नयाँ वर्ष जस्ता विशेष चार्डपर्व मध्येनजर गर्दै व्यवसायीहरूले पनि मानिसहरूको मनोविज्ञान र आर्थिक अवस्था बुझेर विभिन्न स्कीम तथा अफरहरू ल्याउने गरेका छन् । जसले आन्तरिक व्यवसायमा प्रोत्साहन, घुमफिर र रमाउने बानिको विकासका साथै पर्यटन क्षेत्रहरूको समेत पर्बद्धन समेत टेवा पुग्नेछ ।
विशेषगरी नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै गर्दै मानिसको चहलपहल बढीहुने पर्यटकीय गन्तव्यहरू पोखरा, मेघौली, लुम्बिनी, काठमाडौँ, चितवन, नगरकोट लगायतका होटेलहरूले विभिन्न अफरहरू ल्याएका हुन् ।
कुन होटलमा कस्तो छ अफर ?
होटल मेरियट : काठमाडौंको नक्सालमा रहेको पाँचतारे होटेल मेरियटले नयाँ वर्षको प्याकेज सुविधा ल्याएको छ । यस होटलले ४५०० रुपैयाँमै डिनर बफेटको प्याकेज ल्याएको छ । यस्तै, ६५०० रुपैयाँमा बेभरेजका अफर ल्याएको छ । होटेलले नयाँ वर्ष विशेष रुपमा बुधबार साँझ मनाइने जनाएको छ ।
एभरेष्ट होटल : नयाँ बानेश्वरमा रहेको पाँचतारे यस होटेलले पनि २९९९ रुपैयाँको अफर ल्याएको छ । लभिस बुफे ब्रन्च सहित निः शुल्क वाइन तथा आकर्षक उपहारका साथ नयाँ वर्ष विशेष रुपमा मनाइने होटलले जनाएको छ ।यसमा सर्भिस चार्ज र भ्याट जोडिने होटलले जनाएको छ । यस्तै, होटले रुममा विशेष प्याकेज रहेको जनाएको छ ।
सोल्टी होटेल : उपत्यकाको सोल्टी मोडमा रहेको यस होटलले स्पेसल न्यू इयर अफर ल्याएको छ । बुफे डिनर ककटेल, प्रत्यक्ष मनोरञ्जन, र रोमाञ्चक पुरस्कारहरू,असीमित पेय पदार्थहरू सहित डिनरको आनन्द लिन सकिने होटेलले जनाएको छ ।
होटलका अनुसार यो अफर प्रति व्यक्तिका लागि ६९९९ रपैयाँबाट सुरू हुन्छ । खाद्य र पेय पदार्थको अर्डरमा २० प्रतिशत छुटका साथै स्टीम, सौना, जाकुजी र पौडी पोखरी सहित स्वास्थ्य क्लब को निः शुल्क प्रयोग गर्न सकिने होटेलको प्याकेज छ ।
होटल अलफ्ट : उपत्यकाको ठमेलमा रहेको यस होटलले नयाँ वर्षमा डिनर प्याकेज ल्याएको छ । बुधबार सुरू हुने सो प्याकेज अन्तर्गत ग्रहाकले डिनर, पेयपदार्थ लिनसक्ने होटलले जनाएको छ । होटलका अनुसार प्रतिव्यक्ति ३५०० र ६५०० रुपैयाँ दुई जनाको शुल्क रहेको छ ।