काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । यससाता अघिल्ला दुई कारोबार दिनमा ७९ अंकले घटेको नेप्से आज दोहोरो अंकले फर्केको हो ।
अहिलेसम्मकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको वर्ष २०७८ को अन्तिम कारोबार दिन आज नेप्से ३० अंकले बढेको हो । सूचकमा बढोत्तरी आए पनि आज कारोबार रकममा भने झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा तुलनामा कारोबार रकम ५ करोडले घटेर डेढ अर्बभन्दा कममा सीमित भएको छ ।
बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै २.२८ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह् पनि २ प्रतिशतले बढेको छ ।
आज करोबारमा आएको २२९ कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ५ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, आरएमडीसी माइक्रोफाइनान्स ८.९८, राष्ट्र उत्थान लघुवित्त ७.१९, मिथिला लघुवित्त, स्वाबलम्बन लघुवित्त, जाल्पा लघुवित्त, कालिका र इन्फिनिटी लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, समता घरेलु, गणपति लघुवित्त र नेपाल एसबीआई बैंकको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।