काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २० वटा विद्युतीय सवारी किनेको छ । प्राधिकरणले कर्मचारीलाई सुविधा दिनका लागि उक्त कार यसैसाता मात्र नेपाल ल्याएको हो ।
टाटा नेक्सन ईभीको उक्त विद्युतीय कारहरु हाल प्राधिकरणले पार्क गरेर राखेको छ । गाडी क–कस्लाई दिने भन्ने कुरा अझै निश्चित भइनसक्दा गाडीहरु गुडाइएको छैन । उक्त गाडीका लागि नम्बर प्लेट समेत बनाउने काम भइरहेकोले हालसम्म गाडी गुडाउन नसकेको विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
‘गाडी क-कसलाई दिने टुंगो लागेपछि विद्युतीय गाडी नै गुडाइने छ, अहिले नम्बर प्लेट पनि तयार नभएकोले गुडाउन सकिएको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।
प्राधिकरणले गाडी कसलाई दिने भन्ने टुंगो नलाग्दा थन्किएको बताए पनि चालहरुले विद्युतीय गाडी चलाउँदा इन्धन सुविधा नपाइने भएपछि चलाउन आनाकानी गरेको जनाइएको छ । सवारीका लागि तेल खर्च नआउनुका साथै मर्मत समभार शुल्क ज्यादै न्यून हुने भन्दै चालकहरुले सवारी साधन गुडाउन नमानेको बुझिएको छ । विद्युतीय सवारीमा सर्भिसिङ खर्च ९० प्रतिशतले कम हुने गरेको छ ।
प्राधिकरणले पेट्रोल गाडी अन्य प्राधिकरणका वितरण केन्द्र तथा आयोजनाहरुका साइटमा पठाउन लागेको छ । प्राधिकरणले १०औं तहदेखि माथिका कर्मचारीलाइ मात्र गाडी सुविधा दिँदै आएको छ ।
प्राधिकरणले विद्युतीय सवारीको प्रबद्र्धनका लागि विद्युतीय सवारी नै किन्ने योजना बनाएको छ । साइटमा परिचालन हुने सवारी भने पेट्रोलियम पदार्थबाट सञ्चालन हुने छन् ।