काठमाडौं । अब सेयर कारोबार अवधिभर (११ बजेदेखि ३ बजेसम्म) फ्लोरसिट हेर्न नपाइने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्स)लाई उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।
हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण हेर्न पाइने व्यवस्था छ ।
उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको हो ।
यस्तै, बोर्डले ब्रोकरहरुलाई स्क्रिन एग्जिविसन रुम (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि निर्देशन दिएको छ । कोभिड १९ को न्यूनीकरणका लागि बोर्डले करिब २ वर्षदेखि उक्त रुम बन्द गर्न निर्देशन दिएको थियो । अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्नेछन् ।